साउदी आरम्कोमा काम गरेका ४६९ नेपाली श्रमिकले पाएनन् साढे १४ करोड तलब

सबै श्रमिकको आवासीय भिसाको म्याद समाप्त, तीन सय २ जना नेपाल फर्कन इच्छुक, बाँकी साउदीकै अर्को कम्पनीमा काम गर्ने तयारी

जेष्ठ १२, २०८२

होम कार्की

469 Nepalese workers who worked in Saudi Aramco did not get 14.5 million salary

काठमाडौँ — साउदी अरबको पेट्रोलियम उत्पादन र प्रशोधन गर्ने कम्पनी साउदी आरम्को आयोजनामा काम गर्ने ४६९ जना नेपाली श्रमिकले तलबबापतको करिब १४ करोड ६१ लाख रुपैयाँ (४० लाख ४ हजार रियाल) पाएका छैनन् । उनीहरू सेन्दान इन्टरनेसनल कम्पनी (भिसा स्पोन्सर) मार्फत साउदी आरम्कोको आयोजनामा काम गर्दै आएका थिए । रियादस्थित नेपाली दूतावासले ‘आप्रवासी श्रमिकको तलब बिमा सेवा’ मार्फत उपलब्ध गराइदिन साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरेको छ ।

साउदीको मानव संसाधन मन्त्रालयले कम्पनी टाट पल्टिए वा ६ महिनासम्म लगातार तलब नपाएका श्रमिकलाई ‘आप्रवासी श्रमिकको तलब बिमा सेवा’ बाट तलब भुक्तानी गर्ने कार्यविधि जारी गरेको छ । कार्यविधिमा रोजगारदाता टाट पल्टिनुभन्दा ६ महिनाअघिसम्म तलब नपाएबापत प्रतिश्रमिक १७ हजार ५ सय रियाल (करिब ६ लाख २१ हजार रुपैयाँ) र घरफिर्ती टिकटबापत एक हजार रियालसम्म दिनुपर्ने व्यवस्था छ । त्यसलाई नै आधार बनाएर दूतावासले नेपाली श्रमिकको बक्यौता तलब साउदी सरकारसँग दाबी गरेको हो । 

नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीले बिमाबाट श्रमिकको बाँकी तलब पाउनेमा आशावादी भएको बताए । ‘श्रमिकको बाँकी तलब दिलाउन साउदीको संकट विभागसँग नियमित छलफलमा छौं । छलफलले श्रमिक बिमाबाट तलब उपलब्ध हुनेमा सकारात्मक छौं,’ उप्रेतीले कान्तिपुरसँग भने । नेपाली श्रमिकले गत वर्षको अगस्टबाट नै नियमित तलब पाउन छाडेका थिए । तलब नपाउने र घर फिर्न नपाएपछि उनीहरू गत मार्चदेखि काम बन्द गरेर साउदीको पूर्वी क्षेत्रस्थित कम्पनीले उपलब्ध गराएको क्याम्पमा बस्दै आएका छन् । 

469 Nepalese workers who worked in Saudi Aramco did not get 14.5 million salary

संखुवासभाका बलराम राईका अनुसार कार्यस्थल (साइट) अनुसार तलबको बक्यौता फरक–फरक छ । ‘आरम्कोको फरक–फरक साइटमा काम गर्दै आएका थियौं । यहाँ साइटअनुसार तलब पाउने महिना पनि फरक–फरक छ । कसैले त १० महिना अगाडिदेखि नै पाएका छैनन् । धेरैजसो ८ महिनासम्मको तलब नपाउनेहरू छन्,’ उनले भने, ‘तलब कहिले, कसरी पाइन्छ वा पाइँदैन, थाहा छैन ।’ राईले मात्रै ओभरटाइम र उपदानबाहेक १२ हजार ८ सय रियाल (४ लाख ५४ हजार रुपैयाँ) पाउन बाँकी छ । आफूहरूले तलबका लागि श्रम कार्यालयमा एकमुष्ट उजुरी दिएको उनले बताए । 

उनले चर्को गर्मीमा दिनरात नभनी मिहिनेत गरेको प्रतिफल नियमित नपाउँदा दुःख लागेको बताए । ‘अहिले हामी दुई महिनादेखि कम्पनीको क्याम्पमा सुतेरै बसिरहेका छौं । हामीले दैनिक १२ घण्टा परिश्रम गर्‍यौं । खाडीको चर्को घाममा पसिना बगायौं,’ उनले भने, ‘आफ्नो ज्यान हत्केलामा राखेर परिश्रम गरेका थियौं । पसिनाको फल हामीले पाउनुपर्छ ।’ 

469 Nepalese workers who worked in Saudi Aramco did not get 14.5 million salary

रोल्पाका कर्णबहादुर खत्रीले २३ महिना ग्यास प्लान्टमा काम गरेको बताए । ‘ग्यास प्लान्टमा स्काफफोल्डिङको काम थियो । त्यहाँ केजिवी भन्ने साइटमा काम गर्दा ग्यासको निकै गन्ध आउँथ्यो । त्यसले टाउको दुख्थ्यो । नयाँ प्लान्टमा काम गर्दा गन्ध भने आएन,’ उनले भने, ‘मैले काम थालेको १४ महिनासम्म तलब नियमित थियो । त्यसपछि तीन–चार महिना ढिलो हुँदै गयो । पुराना साथीले एकै पटक दिन्छ भन्थे । त्यही भएर तलब नपाए पनि काम गरिरहें । तर, जब साइट बन्द हुँदै गयो, कम्पनी त सबै टाट पल्टिसकेको रहेछ भन्ने थाहा भयो ।’ 

घरफिर्ती टिकट र ‘एक्जिट परमिट’ को प्रतीक्षामा बसिरहेका नेपाली श्रमिकहरूलाई कम्पनीले भात र दाल मात्रै दिइरहेको छ । दूतावासका अनुसार कामविहीन भएका मध्ये ३ सय २ जना नेपाल फर्किन चाहेका छन् भने बाँकी कम्पनी परिवर्तन गरी साउदीकै अर्को कम्पनीमा जाने प्रक्रियामा छन् । ‘स्वदेश फर्किन चाहेका ३ सय २ जनालाई एक्जिट परमिट जारी गर्न साउदीको श्रम मन्त्रालयलाई विवरण पठाइसकेका छौं,’ उप्रेतीले भने, ‘साउदीमै अर्को कम्पनीमा काम गर्न खोज्नेलाई रोजगारी परिवर्तनका लागि सहजीकरण भइरहेको छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully