पोखरा — बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन्। पोखराको इमेज सहकारी ठगीमा जिल्ला अदालत कास्कीको आदेश अनुसार नेपाली सोमबार कारागार चलान भएका हन्।
जिल्ला अदालतका सूचना अधिकारी दामोदर आचार्यले सोमबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। नेपाली हाल जिल्ला कारागार बागलुङमा थुनामा छन्। उनलाई आइतबार जिल्ला अदालत पोखरा ल्याएर बयान लिइएको थियो ।
सत्तारुढ नेकपा एमालेका नेता उनी ०७९ को निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयरमा विजयी भएका थिए। नेपालीले बागलुङ र पोखरामा गरी २ वटा इमेज बचत तथा ऋण सहकारी संस्था खोलेका थिए । दुवै सहकारीमा गरी नेपालीको नेतृत्वमा २ अर्ब रुपैयाँ भन्दा बढी रकम अपचलन भएको सहकारीको छानबिन प्रतिवेदनमा खुलाइएको छ ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा जीबी राई अध्यक्ष रहेको समयमा नेपाली उपाध्यक्ष रहेका थिए। सूर्यर्दशनमा जीबी राईसँग कुरा मिल्न छोडेपछि नेपालीले इमेज सहकारी खोलेर अध्यक्ष भएका थिए । राजनीतिक नेतृत्वले खोलेको सहकारी भन्दै स्थानीय बचतकर्ता त्यसमा आकर्षित भएर रकम जम्मा गरेका थिए । सहकारीमा बचतकर्ताले बचत रकम लिन जाँदा नपाएपछि त्यहाँ अनियमितता भएको पोल खुलेको थियो।
त्यसपछि सहकारीले छानबिन सुरु गर्दा नेपालीले ठुलो रकम अपचलन गरेको तथ्य बाहिर आएको हो। सर्वसाधारणले बचत फिर्ता माग्न थालेपछि नेपाली एकाएक १६ महिना फरार भएका थिए। उनलाई २०८१ असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरिएको हो ।
नेपालीले इमेज सहकारी संस्था पोखराबाट ५७ करोड ३५ लाख रकम हिनामिना गरेको अभियोग छ। गत बिहीबार जिल्ला अदालत कास्कीले नेपाली जोडिएको सुदर्शन सहकारीको मुद्दामा २० लाख धरौटी मागेको थियो ।
