बर्खा नजिकिँदा रोशी क्षेत्रमा बासस्थानको चिन्ता

जेष्ठ १२, २०८२

ज्योती श्रेष्ठ

Habitat concerns in Roshi area as drought approaches

काभ्रे — आँगनको डिलबाटै रोशी खोला बगिरहेको छ। घरको पछिल्लोतिर गत वर्ष खसेको पहिरो आलै छ। गत असोजमा बाढी र पहिरोको चेपमा परेको पनौती नगरपालिका–१२ महरीका विष्णुबहादुर मुल्मीको परिवार ९ महिनादेखि जोखिमकै बीच जेनतेन बसिरहेका छन्।

आकाशमा बादल ढाकिँदा उनलाई एउटै चिन्ता हुन्छ, ‘अब ठुलै पानी पर्‍यो भने कहाँ जाने ?’

गत असोजमा बाढी पहिरोका कारण झेल्नु परेको दुःख उनलाई आलै छ । भन्छन्, ‘धन भने पनि, सम्पत्ति भने पनि बाँकी रहेको यहीँ एउटा घर छ, जाने ठाउँ कहीँ कतै छैन, अर्को बनाउन न पैसा न जग्गा छ ।’

सरकारले बाढी पहिरोले उठीबास बनाएका प्रभावितलाई आठ महिनापछि बल्ल अस्थायी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता बापत २५ हजार रुपैयाँ उपलब्ध गराएको छ । तर धेरैजसो प्रभावितलाई त्यही रकमले टहरो हाल्न पनि सुरक्षित ठाउँ छैन ।

रोशीको बाढीले घर गोठ, कृषि फार्म, पसल केही बाँकी नराखेका महभीरकै राजेन्द्र श्रेष्ठ केही दिन आफन्तसँग बसेर आठ महिनादेखि बनेपामा कोठा भाडामा लिएर बस्दै आएका छन् ।

‘बाढी पहिरो दुवैको जोखिममा त्यहाँ कसरी बस्न सकिन्छ र महिनाको १५ हजार भाडा तिरेर बनेपामा बस्नु परेको छ,’ उनले भने, ‘सरकारले दिएको पैसाले न अन्त सर्न सकिन्छ, पुरानो ठाउँमा माथि पहिरो त तल बाढीको जोखिम छ ।’ यहाँ सञ्चालित खानी तथा क्रसर उद्योगबाट निस्कने बस्तु सिधै खोलामा हाल्ने काम हुँदा पनि जोखिम कम हुन नसकेको उनले सुनाए ।

गत असोजमा स्थानीय ६१ वर्षीय दिलकुमारी राउतको आँगन अगाडि रोशी खोला उर्लेर आउँदा ज्यान जोगाउन रातभर घण्टौँ हिँडेर पनौती बजारसम्म पुगेकी थिइन् । उनका अनुसार स्थानीयलाई बाढी पहिरोको त्रास अहिले झन् बढेको छ ।

‘खानीले डस्ट ल्याएर खोलामा थुपारेका छन्, खोला थुनिएर पोहोरझैं बाढी बस्तीमा पस्ने डर उत्तिकै छ,’ उनले भने, ‘पोहोर परेको पानीले यहाँका डाँडा सबै चिरा परेका छन्, ठुलो पानी पर्‍यो भने पहिरो झर्ने डर छ ।’ स्थानीयलाई यहीँ स्थानमा बस्नका लागि जोखिम हुँदा पनि यस विषयमा सरकारले चासो नदेखाएकोमा उनले गुनासो गरिन् । 

स्थानीय ५५ वर्षीया जमुना बिकलाई अब नयाँ घर बनाउने हिम्मत नै छैन । कारण, भूकम्पले विस्थापित बनाएपछि रोशी बजार उनले नयाँ घर बनाएकी थिइन् । नयाँ घरमा बसेको केही समयमै उनको घर असोजको बाढीले बगायो । बाढीले उनको घर मात्र बगाएन, बाँकी रहेको जग्गा जमिन, अन्नपात सबै बगायो । बाढीले पुनः विस्थापित बनाएको उनको परिवारलाई फेरि नयाँ घर बनाउने स्रोत छैन । भन्छिन्, ‘अस्थायी घर बनाउन सरकारले पैसा दिए पनि यस्तो बाढी र पहिरोको जोखिम भएको ठाउँमा हामीले कसरी सक्छौँ र ?’

पनौतीका बाढी पहिरो प्रभावितलाई अहिले एउटै चिन्ता छ, ‘बाढी पहिरोको जोखिम भएकै स्थानमा कसरी बस्ने, कसरी अस्थायी घर बनाउने ? कहाँ बनाउने ?’ 

प्रभावितहरूको चिन्तामा सरोकारवाला निकायले भने चासो देखाएका छैनन् । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती नगरपालिका १२ का कलाँती, रोशी बजार, वडा ८ ड्याम साइड क्षेत्र, मल्पी क्षेत्र, वडा ११ स्थित थुम्की डाँडा, नेपाने, लड्केश्वर क्षेत्र, वडा २ नयाँ गाउँ बस्ती, वडा ७ पनौती बजार क्षेत्रलगायतका विभिन्न स्थान बाढी पहिरोको जोखिम रहेको बताए ।

‘यी स्थानका बस्ती स्थानान्तरण गर्नुपर्ने देखिए पनि स्थानीय तहको एकल निर्णय पनि गर्न सकिँदैन, त्यसको लागि भूगर्भविद्ले त्यहाँको वस्तुस्थितिको बारेमा अध्ययन गर्नुपर्ने हुन्छ, यस विषयमा प्रदेश र संघलाई जानकारी गराइए पनि, कुनै सम्बोधन गरिएको छैन,’ उनले भने । उनका अनुसार यस विषयमा प्रदेश र संघबाट सहयोग गर्न आवश्यक रहेको छ ।

विपद्बाट अति प्रभावित काभ्रेको अर्को स्थानीय तह रोशी गाउँपालिका–२ नारायाणटार, वडा ९ स्थित देउराली र वडा ११ कालढुंगालगायतका स्थान उच्च जोखिममा रहेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लाममाले बताए । उनका अनुसार वडा ९ देउरालीको बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था छ । ‘प्रभावितलाई स्थानान्तरण गर्न सुरक्षित स्थान खोजेर स्थानान्तरण गर्न कार्यपालिका बैठकबाट निर्णय गरेर केन्द्रमा पठाएका छौँ,’ उनले भने, ‘तर केन्द्रले निर्णय पनि गर्न सकेको छैन, यस विषयमा चासो देखाएको छैन ।’

त्यस्तै, विपद् प्रभावित बेथानचोकका विभिन्न वडाका १२० बस्ती उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानीय तहको अधिकार अनुरूप उच्च जोखिममा रहेका बस्तीको तथ्यांक संकलन गरेर केन्द्रमा पठाइएको छ ।

‘उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण गर्ने विषयमा स्थानीय तहको एकल अधिकारको निर्णय मात्रै गर्न सकिँदैन,’ उनले भने, ‘केन्द्रबाट जोखिममा रहेका बस्तीको अध्ययन गरेर स्थानान्तरण गर्ने निर्णय केन्द्रले गर्नेछ, विवरण पठाएपछि केन्द्रबाट अरू कुनै भएको छैन ।’

पालिकाले मनसुनजन्य विपद्बाट जोगिनका लागि स्थानीयलाई सचेत गराइएको उनले बताए । उनका अनुसार विपद्को प्रतिकार्यका लागि औजार तथा उपकरण तयारी अवस्थामा राखिएको छ । 

०००

बाढी पहिरोबाट प्रभावित भएका जोखिमयुक्त बस्तीमै बस्दै आएकाको लागि सुरक्षित बासस्थानको विषयमा २०८१ कात्तिक ५ गते जिल्ला विपद् व्यवस्थापन समिति बैठकले जोखिमयुक्त बस्तीको भौगोलिक अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

बैठकले बाढी पहिरोका कारण बस्न योग्य नभएको र स्थानान्तरण गर्नुपर्ने बस्ती पहिचान गरी विवरण पठाउन सबै स्थानीय विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको ७ महिना बितिसक्दा पनि यस विषयमा सम्बन्धित निकायले कार्यान्वयनको लागि कुनै प्रक्रिया नबढाएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई यस विषयमा पटक–पटक ताकेता गरे पनि हालसम्म कार्यान्वयन भएको छैन । ‘स्थानीय पालिकाबाट जोखिमयुक्त बस्तीको विवरण संकलन भएर आएको छ,’ उनले भने, ‘उक्त विवरण केन्द्रमा पेस पनि गरिएको छ, तर केन्द्रले यस विषयलाई चासो भने दिएको छैन ।’

असोज ११ र १२ गतेदेखि आएको बाढी र पहिरोमा काभ्रेमा जिल्लामा ठुलो संख्यामा जनधनको क्षति भएको थियो । काभ्रेका १३ पालिकाका विभिन्न स्थानका ७८ को मृत्यु र ६ जना बेपत्ता भएको विवरण जिल्ला प्रशासनसँग छ । काभ्रेका पनौती, रोशी, बेथानचोक, तेमाल, र पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर, भुम्लु, चौरीदेउराली, खानीखोला, महाभारत गाउँपालिकालाई सरकारले संकटग्रस्त घोषणा पनि गरेको थियो । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully