कांग्रेस सांसद बजगाईंले कोइरालालाई भने - स्पष्टीकरण तपाईंलाई सोध्नुपर्छ

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Congress MP Bajgai said to Koirala - You should be asked for an explanation

काठमाडौँ — भ्रष्टाचार र अनियमिततामा संलग्न रहेको भनी प्रश्न उठेका मन्त्रीहरूलाई हटाउनुपर्ने माग राखेका नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने भनी कांग्रेस सांसद तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी बैठकमा माग गरेपछि पार्टीभित्रै आलोचना सुरु भएको छ ।

कांग्रेस सांसद राजेन्द्र बजगाईंलले सामाजिक संजालमार्फत स्पष्टीकरण शशांक कोइरालालाई सोध्नुपर्ने भनी माग गरेका छन् ।

उपहार र राजनीतिक पदको सौदाबाजीका कुरा उठाउँदै बजगाईंले स्पष्टीकरण डा. कोइरालालाई सोध्नुपर्ने माग गरेका हुन् । 'म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, सुनको रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित 'घरको जीर्णोद्धार' वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ,' उनले सामाजिक संजालमा भनेका छन् । 

मन्त्रीहरूमाथि प्रश्न उठाउने नेताहरूलाई शशांक कोइरालाले स्पष्टीकरण सोध्नुपर्ने भनी पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा माग गरेका थिए । सांसदहरू डा. शेखर कोइराला, डा. सुनील शर्मा र बजगाईंलाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका थिए ।

उक्त विषयमा बजगाईंले भने, 'हामी भ्रष्टाचार विरोधी कुरा गरिरहेका छौं । भ्रष्टाचार भयो अथवा भिजिट भिसाको बारेमा कुरा गरेपछि त शभ्य, शालीन भएर पार्टी सभापतिलाई चिठी लेखेको थिए । भ्रष्टाचारबारे कुरा गर्दा उल्टो प्रष्टिकरण सोध्छु भन्ने ? बाहिर आएर पनि उक्त कुरा बताउने तर उहाँ प्रवक्ता होइन,' उनले भने, 'भ्रष्टाचार विरोधी कुरा गर्दा प्रष्टिकरण सोध्ने मान्छेले गिफ्ट लिन मिल्छ ? मिल्ट भन्ने मान्छे भ्रष्टाचारको पक्षधर हो ।'

शेखर कोइरालालगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाउँदै राजीनामा गर्नुपर्ने माग गरेका थिए । 

कान्तिपुर

Link copied successfully