नेसपाको गंगानारायण समूह माओवादीमा समायोजन

माओवादीमा श्रेष्ठलाई सचिव पदमा मनोनयन गर्ने निर्णय पनि भएको छ

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Adjustment of Ganganarayan Group of NESP to Maoists

काठमाडौँ — माओवादी केन्द्रबाट २०७२ मा अलग भई नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेको गंगानारायण श्रेष्ठ समूह माओवादीमा समायोजन भएको छ।

बागमती प्रदेशसभा सदस्यसमेत रहेका श्रेष्ठको नेतृत्वमा नेसपाको एक समूह माओवादीमा समायोजन भएको हो। माओवादी र नेसपा श्रेष्ठ समूहबीच भएको वार्तापछि पूर्व माओवादी नेता श्रेष्ठ पुनः पुरानो घरमा फर्किएका हुन्।

माओवादीमा श्रेष्ठलाई सचिव पदमा मनोनयन गर्ने निर्णय पनि भएको छ। 'पार्टी समायोजनको नेतृत्व गर्नुभएका क. गंगानारायण श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरूलाई सम्मानजनक रूपमा संगठनात्मक जिम्मेवारीसहित कार्य विभाजन गरिनेछ,' माओवादी अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठले हस्ताक्षर गरेको सहमतिमा उल्लेख गरिएको छ।

सहमति पत्रमा पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुने र पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको कार्यक्रम हुने उल्लेख गरिएको छ।

'समाजवादी क्रान्तिका लागि परिस्थितिअनुरूप सडक, सदन र सरकारलगायतका सबै प्रकारका आन्दोलनका स्वरूपहरू अवलम्बन गरिनेछ,' सहमतिमा भनिएको छ, 'तत्कालका कार्यनीतिक विषयहरू पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिनेछ।'

पार्टीमा विचारको स्वतन्त्रता र कामकारबाहीमा एकरूपताको जनवादी केन्द्रीयताको सैद्धान्तिक मान्यता अनुरूप पार्टी सञ्चालन गरिने र कतिपय वैचारिक विषयमा महाधिवेशनसम्म पार्टी पङ्क्तिभित्र छलफल गर्ने बाटो खुला राखिने उल्लेख छ।

Adjustment of Ganganarayan Group of NESP to Maoists

कान्तिपुर

Link copied successfully