युवा संघ महाधिवेशन : उम्मेदवारी दर्ता सुरु

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

Yuva Sangh Convention: Registration of candidature has started

कास्की — नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता सुरु भएको छ । महाधिवेशनस्थल पोखरा सभागृहमा आइतबार साँझ ७ बजेदेखि मनोनयन दर्ता सुरु भएको हो । 

उम्मेदवारी दर्ता राति साढे ८ बजेसम्म जारी रहने र अपुग भएमा समय थप गरिने निर्वाचन अधिकृत जय गुरुङले बताए । पदाधिकारी, भूगोल सदस्यका लागि मनोनयन दर्ता गर्न छुट्टाछुट्टै ठाउँ तोकिएको छ । 

दिउँसो साढे ४ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको थियो । मनोनयन फारम वितरण ढिलो भएपछि उम्मेदवारी दर्ता पनि पछि धकेलिएको हो । वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी अध्यक्षका प्रमुख दाबेदार छन् । उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महाराज गुरुङ, विनय शाह, महासचिवमा कुबेर अधिकारी र महेश चौलागाईं प्रमुख दाबेदार छन् ।

अध्यक्ष, दुई खुला उपाध्यक्ष, महासचिव, उपमहासचिव, दुई खुला सचिव, मधेश र महिला सचिव गरी ९ पदाधिकारी, आयोग पदाधिकारी र सदस्यसहित १ सय ६३ पदका लागि निर्वाचन हुनेछ ।

महाधिवेशनका लागि देशभरबाट १ हजार ७ सय ६४ प्रतिनिधि छन् । आज उम्मेदवारी दर्ता, अन्तिम नामावली प्रकाशन गर्ने र सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने तयारी छ । मतदान भोटिङ मेसिनमार्फत हुनेछ । 

कान्तिपुर

Link copied successfully