युनुस अन्सारी कारागारबाट छुटेलगत्तै सीआईबीको नियन्त्रणमा

सम्पत्ति शुद्दीकरणमा अनुसन्धान गर्न म्याद थपका लागि अदालत उपस्थित गराइँदै

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

Yunus Ansari in custody of CIB soon after his release from jail

काठमाडौँ — नक्कली भारतीय नोट प्रकरणमा कैद सजाय भुक्तान गरी छुटेका बाराका युनुस अन्सारीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अघि बढाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको हो । नख्खु कारागारबाट ६ वर्ष कैद भुक्तान गरी शनिबार मुक्त भएका अन्सारीलाई सीआईबीले शनिबार छुटे लगत्तै नियन्त्रणमा लिएको थियो । 

सीआईबीका एसएसपी होबिन्द्र बोगटीले अन्सारीलाई म्याद थपका लागि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढेको बताए । अन्सारीलाई आइतबार अदालत उपस्थित गराइँदै छ । 

उनी कैद मुक्त हुने भएपछि सीआईबीले अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई बुधबार मात्रै पत्र पठाएको थियो । त्यही पत्रका आधारमा कारागारबाट रिहा भएलगत्तै अन्सारीलाई अनुसन्धानका लागि शनिबार नियन्त्रणमा लिएको थियो । 

अन्सारी पहिलो पटक १३ पुस २०६६ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए । उनी अर्को महिना १७ माघमा कारागार चलान भएका थिए । त्यतिबेला उनी नेसनल टेलिभिजनका अध्यक्ष थिए । ६ असोज २०६७ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारी जोडिएका थिए । त्यसपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी १८ असोज २०७० मा छुटेका थिए ।

तेस्रोपटक १० माघ २०७० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरी छुटे । १० जेठ २०७६ मा पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परे । 

त्यसपछि उनलाई अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यही कैद सजाय उनले शनिबार भुक्तान गरेका हुन् । 

हिरासतबाहिर राख्दा अन्सारीमाथि ‘सुरक्षा चुनौती’ देखिएकाले अनुसन्धानका लागि हिरासतमै लिनुपर्ने अवस्था आएको प्रहरीका एक अधिकारीको भनाइ छ । अन्सारी भारतीय आपराधिक गिरोहको निसानामा पर्दै आएका छन् । केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेलासमेत अन्सारीमाथि भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले २६ फागुन २०६७ मा गोली हानी हत्या प्रयास गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully