ग्वार्को ओभरपास जेठभित्रै बनिसक्ने

सडक सुरक्षासम्बन्धी थप काम सकेर असार पहिलो सातादेखि सवारीसाधन सञ्चालनमा ल्याउने तयारी

जेष्ठ ११, २०८२

विमल खतिवडा

Gwarko overpass to be completed by May

काठमाडौँ — दुई वर्षभित्रै काम सक्ने गरी २०७८ फागुनमा निर्माण थालिएको ग्वार्को ओभरपास त्योभन्दा १५ महिना बढी अवधि लगाएर यही जेठभित्र सक्ने गरी अन्तिम चरणको काम भइरहेको छ । ओभरपास बनिसकेपछि त्यसमा सडक सुरक्षासम्बन्धी काम सकेर असार पहिलो सातादेखि सवारीसाधन सञ्चालनमा ल्याउने सडक विभागको तयारी छ ।

चार लेनको यो ओभरपास ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३ सय २० मिटर र सातदोबाटोतर्फ १ सय ८५ मिटर लामो छ, जहाँ यतिखेर धमाधम कालोपत्र भइरहेको छ । शनिबार कोटेश्वरतर्फ पहिलो तहको कालोपत्र सुरु भएको छ । यस खण्डमा चार तहको कालोपत्र गरिनेछ । 

सातदोबाटोतर्फ पनि एक साताभित्रै कालोपत्र थाल्ने गरी बेस राख्ने काम भइरहेको निर्माणमा संलग्न आशिष–समानान्तर–रेलिगेर जेभीका प्रोजेक्ट म्यानेजर विशाल कार्की बताउँछन् । 

सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीका अनुसार यही महिनाभित्र निर्माणका सबै काम सकिनेछ । ‘अब धेरै काम बाँकी छैन,’ उनले भने, ‘सकिएलगत्तै ओभरपासबाट सवारी सञ्चालन गर्छौं ।’ अहिलेसम्म निर्माण प्रगति ८५ प्रतिशत छ । आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा यसको ठेक्का लिएको हो ।

Gwarko overpass to be completed by May

सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास निर्माण सकिनुपर्ने थियो । नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो, तर पनि काम सकिएन । फेरि काम नसकिएपछि गत पुस ९ सम्मको म्याद थियो, तैपनि कामको रफ्तार बढेन । ठेक्का लिने कम्पनीले काम नसकेपछि गत पुस १० बाट जरिवाना लगाएर काम गराइराखिएको छ ।

प्रतिदिन ०.०५ प्रतिशतका दरले जरिवाना लगाएर काम गराइएको केन्द्रले जनायो । 

ओभरपासको र्‍याम्प १०.२ मिटरसम्म अग्लो बनाइएको छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नॅपर्छ । निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए । 

Gwarko overpass to be completed by Mayतस्बिरहरु : दीपक केसी/कान्तिपुर

निर्माण थालेयता कोटेश्वर–ग्वार्को–सातदोबाटो–कलंकी खण्डमा ट्राफिक जाम नभएको दिन छैन । चालक–यात्रुसमक्ष लामो समयसम्म ट्राफिक जाम छिचोलेपछि मात्र गन्तव्यमा पुग्नुको विकल्प छैन । अझै ट्राफिक जामको समस्या उस्तै छ । 

जेठभित्र निर्माणको काम सकिए पनि असार पहिलो साताबाट मात्र ओभरपासमा सवारीसाधन सञ्चालन हुने सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए । ‘कालोपत्रको काम सकेर सडक सुरक्षासम्बन्धी काम गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘रेलिङ लगाउनुपर्ने हुन्छ, यो सबै काम सकिएपछि निर्माण कम्पनीले विभागलाई हस्तान्तरण गर्छ ।’ जरिवाना लगाएर काम गराइराखिएकाले निर्माण व्यवसायीले अब काममा ढिला नगर्ने उनको भनाइ छ । निर्माण सम्पन्न भएको पाँच वर्षसम्म यसको मर्मतसम्भारको काम पनि निर्माण व्यवसायीले नै गर्नुपर्ने अर्यालको भनाइ छ । ‘ग्वार्कोबाट लुभुतिर जाने गाडी ओभरपासमुनिबाटै वारपार गर्छन्,’ उनले भने, ‘कोटेश्वर, कलंकी जाने सवारीसाधनले ओभरपास प्रयोग गर्ने भएकाले यस खण्डमा हुने ट्राफिक जाम हुनेछैन ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully