नेपालमा छोटो पुच्छ्रे समुन्द्री फिरन्ते चरा अभिलेख 

जेष्ठ ११, २०८२

मनोज पौडेल

A record of short-tailed seabirds in Nepal

कपिलवस्तु — नेपालमा छोटो पुच्छ्रे समुन्द्री नामको नयाँ फिरन्ते चरा फेला परेको छ । उक्त चरा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित कोशी ब्यारेज रहेको पिन टावरबाट कोशी बाँध जलाशयमा पौडी खेलिरहेको अवस्थामा देखिएको हो ।

उक्त चरा चराविद् अनिश तिम्सिनाले देखेर तस्बिर र भिडियो खिचेका थिए । उनले ३० मिटर नजिकैबाट आधी घण्टासम्म चरा अवलोकन गरेका थिए । यो फिरन्ते चराका रूपमा यहाँ देखिएको हो । वर्षभरि एकै स्थानमा नबस्ने, कहिले कता, कहिले कता डुलिरहने चरालाई फिरन्ते चरा भनिन्छ । यसले प्रजनन् गरेको वा बासस्थान नभेट्दासम्म यो नेपालमा फिरन्ते चराकै रूपमा रहने चराविद्हरू बताउँछन् । यो नेपालका लागि नयाँ प्रजाति मात्र नभएर समुन्द्रमा पाइने चराको परिवारकै पहिलो रेकर्ड भएको वरिष्ठ चराविद्  हेमसागर बरालले बताए । यसले प्रशान्त महासगार आसपास पाइने चरा नेपालमा पनि पाइने सन्देश दिएको उनले बताए । 

चरा अवलोकन गर्दै त्यहा पुगेका अनिशले नयाँ चरा जस्तो लागेपछि तस्बिर र भिडियो खिचेका थिए । चराको तस्बिरसहित विस्तृत सूचना दिएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय चरा विज्ञको टोलीले उक्त चरा नेपालका लागि नयाँ भएको पुष्टि गरेको चराविद् हठन चौधरीले बताए । उनले उक्त चरा गत वैशाख २० गते ९ बजेर ०६ मिनेटमा देखेका थिए । नेपालमा नयाँ चराको अभिलेख राख्ने नेपाल बर्ड रेकर्ड कमिटीलाई नयाँ चराका बारेमा पुष्टि गर्न भौगोलिक अवस्थासहित वैशाख २२ गते विस्तृत विवरणसहित जानकारी दिएका थिए । समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र राष्ट्रिय अन्तर्राष्ट्रिय चरा विशेषज्ञसँग छलफल र राय सुझाव लिएर नेपालका लागि नयाँ चरा भएको निष्कर्षमा पुगेको समिति अध्यक्ष  तुल्सी सुवेदीले बताए । समितिले अंग्रेजीमा सर्ट टेल्ड शियरवाटर

नाम रहेको चराको नेपाली नाम छोटो पुच्छ्रे समुन्द्री चरा दिइएको छ । नेपाल बर्ड रेकर्ड कमिटीले नै चराको नेपाली नाम राखेको हो । चराको रूप रग र बनावट हेरेर नामकरण गरिन्छ । अब नेपालमा पाईने चराको संख्या थपिएर ९ सय पुगेको छ । मुलुका लागि नया चरा पहिचान गर्न सकेकोमा खुसी लागेको चराविद् तिम्सिनाले  बताए । 'यसले चरा पर्यटनमा लाग्न थप उत्साहित बनाएको छ,' उनले भने, 'मुलुकका लागि अहिलेसम्म व्यक्तिगत रूपमा ३ नयाँ प्रजातिको चराको विविधता थप्न पाउदा खुसी छु ।'  यो चरा अस्ट्रेलिया, क्यानडा, कोस्टारिका, फिजी, जापान, भारत, न्युजिल्यान्ड, रुस, श्रीलंका र दक्षिण कोरियामा आवासीय रूपमा पाइन्छ ।

यसअघि गत चैत २५ गते नेपालका लागि नयाँ चरा बैजनी कोइली फेला परेको थियो । तिम्सिनासहित चराविद् राजेन्द्र गुरुङ र मलेसियन नागरिकद्वय अलेक्जेन्डर जोनआङ याङ र रोजररोबर्ट राजा चारै जनाले बैजनी कोइलीको पहिलो पटक अभिलेख गरेका थिए । नेपालमा नया चरा अभिलेख हुनु भनेको पर्यापर्यटनको आकर्षण बढ्दै गएको नेपाल पन्छीविद् संघका कार्यकारी निर्देशक लक्ष्मण पौड्यालले बताए । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully