काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै देउवाले स्व. रेग्मी त्यागी र कुनै किसिमको लोभ–लालच नभएका व्यक्तिका रूपमा रहेको उल्लेख गरे । पार्टीमा यस्ता व्यक्तिहरू अत्यन्तै कम रहेको उनले बताए ।
स्व. रेग्मीले हृदयदेखि नै समर्पित भएर कांग्रेसलाई बढाउन र बनाउन योगदान दिएको देउवाको भनाइ थियो ।
सभापति देउवाले भने, ‘उहाँ अत्यन्तै त्यागी, कुनै किसिमको लोभ–लालच नभएको व्यक्ति हो । धेरै कम नेपाली कांग्रेसीहरू यस्ता छन् । सच्चा अर्थमा नेपाली कांग्रेसप्रति हृदयदेखि समर्पित भएर कांग्रेसलाई अगाडि बढाउन लागेका छन् । उहाँलाई पछिल्लो समयमा भेट्न नपाएकोमा मलाई दुःख लागेको छ । उहाँ अत्यन्तै समर्पित साथी हो । त्यस्ता साथीहरू हाम्रो पार्टीमा नगण्य छन् भन्ने भनिए पनि हुन्छ ।’
देउवाले स्व. रेग्मीको बारेमा लेखहरू लेखेर आम जनमानसमा उहाँको छविको उजागर गर्नु आवश्यक रहेको समेत बताएका छन् ।
