कोशीमा मात्रै विपद्बाट एक दशकमा ७३ हजार परिवार प्रभावित

१ हजार २८ जनाको मृत्यु, यस वर्षको मनसुन सुरु हुनुअघि नै १४ जिल्लाका २५ हजार घरधुरी पहिरोको उच्च जोखिममा

जेष्ठ १०, २०८२

पर्वत पोर्तेल

In Koshi alone, 73,000 families were affected by disasters in a decade

विराटनगर — प्राकृतिक प्रकोपले बारम्बार जनधनको क्षति पुर्‍याउँदै आएको कोशी प्रदेश हाल देशकै सबैभन्दा संवेदनशील विपद् क्षेत्रका रूपमा चिनिन थालेको छ । पहाडदेखि तराईसम्म फैलिएको भौगोलिक अवस्थाका कारण यहाँ बर्सेनि बाढी, पहिरो, डुबान, चट्याङ, आगलागीजस्ता प्राकृतिक र मानव सिर्जित विपद्का घटनाले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याउँदै आएको छ ।

एक दशकयताको तथ्यांक हेर्दा कोशी प्रदेशमा भएका ११ हजार ९ सय ३७ वटा विपद्का घटनामा परी १ हजार २८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, ७३ हजारभन्दा बढी परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

कोशी प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका सदस्य तथा विपद् विज्ञ रामकुमार दाहालका अनुसार यो प्रदेश विपद् जोखिमको दृष्टिले ‘रेड जोन’ मा पुगिसकेको छ । ‘यहाँको भौगोलिक अवस्था, जलवायु परिवर्तन, बस्तीको अव्यवस्थित विस्तार र संरचनागत कमजोरीका कारण कोशी जोखिममा परेको हो,’ दाहाल भन्छन् ।

विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने विज्ञको सुझाव छ । स्थानीय तह, प्रदेश सरकार र संघीय निकायबीच समन्वयात्मक ढंगले योजना निर्माण र कार्यान्वयन गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न जनचेतना, पूर्वतयारी, समयमै सतर्कता र जोखिमयुक्त क्षेत्रको पुनःस्थापना प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको सरोकारवाला बताउँछन् । प्राकृतिक प्रकोपको लगातार मार खेप्दै आएको कोशी प्रदेशमा मुख्यतः बाढी, पहिरो, चट्याङ र भूकम्पजस्ता विपद्का घटनाहरू दोहोरिँदै आएका छन् । पछिल्लो एक दशकको तथ्यांकअनुसार यस्ता विपद्का कारण ७ सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

विपद् विज्ञ दाहालका अनुसार कोशीमा सबैभन्दा धेरै चट्याङको प्रकोप देखिएको छ । पछिल्लो १० वर्षमा चट्याङ लागेर मात्रै २ सय ४६ जनाको मृत्यु भएको छ । ‘बाढी, पहिरोभन्दा पनि चट्याङको जोखिम कोशीमा उच्च छ,’ दाहाल भन्छन् ।

त्यसपछि पहिरोले २ सय ४२ जनाको र बाढीले १ सय ८६ जनाको ज्यान लिएको छ । भूकम्पका कारण ६२ जनाले ज्यान गुमाएका छन्, जसमा २०७२ को विनाशकारी भूकम्पबाट ठूलो क्षति भएको थियो । दाहालका अनुसार कोशी प्रदेश भूकम्पको दृष्टिले पनि उच्च जोखिममा छ । ‘यहाँ ७० प्रतिशतभन्दा बढी घर माटो र ढुंगाबाट बनेका छन्,’ उनी भन्छन्, ‘जुन सामान्य भूकम्पले पनि भत्काएर ठूलो क्षति पुर्‍याउन सक्ने जोखिम छ ।’ 

गत वर्ष मुलुकले दशककै सबैभन्दा भयावह बाढीको सामना गर्नुपरेको थियो । उक्त बाढीमा २ सय ३९ जनाले ज्यान गुमाए भने १७ हजारभन्दा बढी मानिसको उद्धार गरिएको थियो । त्यस्तै, बाढीका कारण ३९ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भए । झापा र सुनसरी बाढीबाट सबैभन्दा बढी प्रभावित भए । 

विपद् न्यूनीकरणमा चुनौती कायमै रहे पनि स्थानीय तथा प्रदेश सरकारका निकायहरूले जोखिम क्षेत्रको पहिचान, पूर्वसूचना प्रणालीको सुदृढीकरण र नागरिक सचेतनामा जोड दिन थालेका छन् । विपद्का कारण हुने जनधनको क्षति रोक्न दीर्घकालीन योजना र पूर्वतयारी आवश्यक रहेको विज्ञहरूको राय छ । ‘अझ चिन्ताजनक पक्ष हिमताल विस्फोट हो, जसले सुनसरी, उदयपुर र ओखलढुंगाका १२ हजार ७ सय ६ घरधुरी प्रभावित पारेको थियो,’ दाहाल थप्छन्, ‘विपद्हरू प्राकृतिक र मानव सिर्जित दुवै खालका छन् । दुवैको जोखिम उच्च छ ।’ 

यस वर्षको मनसुन सुरु हुनुअघि नै पूर्वी नेपालका १४ जिल्लामा पहिरोको उच्च जोखिममा परेका घरधुरीको संख्या २५ हजार नाघेको छ । स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूको प्रारम्भिक तथ्यांकअनुसार तीमध्ये २ हजार ७ सय ८ घरधुरीलाई तत्काल स्थानान्तरण गर्नु आवश्यक देखिएको छ । सर्वाधिक जोखिममा पर्ने जिल्ला पाँचथर हो, जहाँ ३ हजार ५ सय ४० घरधुरी पहिरोको सम्भावित प्रभावमा छ । यद्यपि स्थानान्तरण आवश्यक पर्ने संख्या भने ८६ मा सीमित छ ।

दोस्रो धेरै प्रभावित जिल्ला संखुवासभा हो, जहाँ २ हजार ६ सय ५० घरधुरी प्रभावित छन् । सबैभन्दा बढी ७ सय ८ घरधुरीलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ । इलाममा १ हजार २ सय ४३ घरधुरी पहिरोको जोखिममा छन् भने तीमध्ये ३ सय ५५ घरधुरी अत्यधिक जोखिमयुक्त क्षेत्रमा छन् । यस्तै ताप्लेजुङमा २ हजार ४ सय ३० घरधुरी प्रभावित छन् र २ सय ८५ घरधुरी स्थानान्तरण आवश्यक पाइएको छ ।

खोटाङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, उदयपुर, मोरङ, सुनसरी, झापालगायत जिल्लामा पनि सयौं घरधुरी पहिरोको चपेटामा परेका छन् । झापा, मोरङ र सुनसरी त बाढीको पनि उच्च जोखिममा छन् । विशेषगरी पहाडी भूभागमा रहेको संरचनागत जोखिम, अव्यवस्थित बस्ती विकास र वातावरणीय असन्तुलनले समस्या गम्भीर बन्दै गएको विज्ञहरूको भनाइ छ ।

स्थानीय सरकार तथा विपद् व्यवस्थापन निकायहरूले जोखिम मूल्यांकन तथा पूर्वतयारीलाई तीव्रता दिइरहेका छन् । सम्बन्धित निकायहरूले उच्च जोखिममा रहेका घरधुरीलाई सुरक्षित स्थानमा सार्न योजना बनाइरहेको बताइएको छ । 

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully