सरकारी कार्यालय असुलीका अड्डामा रूपान्तरण भए : महासचिव भुसाल

जेष्ठ १०, २०८२

तर्कराज भट्ट

Government office turned into a base for extortion: Secretary General Bhusal

डडेलधुरा — एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक अहिले गम्भीर संकटतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । शनिबार बझाङको जिल्ला अधिवेशनका लागि जाने क्रममा डडेलधुरामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भुसालले देशमा कुशासन र बेरोजगारी चरम अवस्थामा पुगेको बताए ।

 ‘७५ वर्षदेखि व्यापार घाटा र ऋण बढेको दुस्चक्रमा मुलुक फसेको छ,’ उनले भने, ‘आज रोजगारी र सुशासन जनताको मूल माग हो, तर सरकार त्यसप्रति बेखबर छ ।’

गृह प्रशासनमा देखिएको भिजिट भिसा प्रकरण एउटा उदाहरण मात्र भएको भन्दै उनले भने, ‘जनताको सेवा गर्ने भनिएको सरकारी कार्यालय आज असुलीका अड्डामा रूपान्तरण भएका छन् ।’

भुसालले सत्तासीन दलहरू एकअर्कामाथि आरोप–प्रत्यारोपमै सीमित भएको भन्दै सरकारको कार्यसम्पादनमाथि कडा आलोचना गरे । ‘सरकारको नालायकीकरणले जनतामा निरन्तर आक्रोश बढेको छ,’ उनले भने, ‘त्यही आक्रोश सडकमा पुनरुत्थानवादीहरूले कब्जा गर्न थालेका छन् । हामीले कमजोरी गर्‍यौं, उनीहरूको मनोबल बढेको हो ।’

तर, उनले पुनरुत्थानवादी प्रदर्शनलाई राजावादी आन्दोलनको प्रयास मात्रै भएको दाबी गरे । ‘राजा आउँछ कि भनेर चिन्ता गर्नु पर्ने अवस्था छैन,’ उनले भने, ‘तर गणतन्त्रको अभ्यासमा भएका कमजोरीले आजका राजावादीहरूले प्रश्न उठाउने हैसियत पाएका छन्, यो हामी सबैका लागि लज्जाको कुरा हो ।’

तर्कराज

Link copied successfully