२० महिनायता जारी इजरायल–हमास युद्वका कारण १७ हजारभन्दा धेरै बालबालिकाले ज्यान गुमाइसके, १ लाख १५ हजारभन्दा बढी बालबालिका घाइते र अंगभंग
काठमाडौँ — ‘यस ठाउँमा बोल्न असम्भव छ । आमा व्यंग्यात्मक शैलीमा कुरा गर्नु हुन्छ, सामान्य स्वरमा बोल्नु हुन्न, बाबालाई छलफलमा भाग लिनै मन लाग्दैन । भान डान आक्रामक बन्छन्, डुसेलचाहिँ चुपचाप बस्छन् । अनि हामी ? हामीलाई त विचारै राख्न दिइँदैन । अचम्म, अचम्म । आफ्नो भनाइ राख्न पनि नपाउने !’
दोस्रो विश्वयुद्धमा ज्यान जोगाउन गोप्य कोठाभित्र लुकेर बसेका बेला ७ मार्च १९४४ मा १३ वर्षीया एन फ्र्यांकले डायरीमा लेखेका पंक्ति हुन् यी । यसमा उनले विश्वयुद्ध र जातीय नरसंहारका समयमा झन्डै २ वर्ष लुकेर बस्नुपर्दाको पीडा पोखेकी थिइन् । यी पंक्ति लेखेको ५ महिनापछि फ्र्यांकसहित उनको यहुदी परिवारलाई नाजी शासकले पक्राउ गर्यो ।
लगभग ६ महिनापछि जर्मनीको एक शरणार्थी शिविरमा फ्र्यांकको मृत्यु भयो । ती बालिकाको डायरी अहिले पढ्दा मानव समाज कसरी त्यस्तो विद्रूप हुन सक्छ भन्ने लाग्छ, पत्याउनै गाह्रो ! तर आठ दशकपछि प्यालेस्टाइन र विशेष गरी गाजाका बालबालिकाका लागि इतिहासको त्यो त्रासदी पुनः फर्किएको छ । झन्डै २० महिनायता जारी इजरायल–हमास युद्वका कारण १७ हजारभन्दा धेरै बालबालिकाले ज्यान गुमाइसकेको संयुक्त राष्ट्रसंघ तथा अन्य केही राहत संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
यीमध्ये २७४ नवजात शिशु र ८ सयभन्दा बढी १ वर्षमुनिका बालबालिका रहेको प्यालेस्टाइनी अधिकारीहरूको दाबी छ । यही अवधिमा ५० भन्दा बढी बालबालिकाले भोकमरी र १७ बालबालिकाले विस्थापितका लागि राखिएका टेन्टमा चिसोका कारण जीवन गुमाएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
युनिसेफका अनुसार ७१ हजार बालबालिका र १७ हजार सुत्केरी गम्भीर कुपोषणको सिकार बनेका छन् । ११ सातायता राहत सामग्री प्रवेशमै रोक लगाइएका कारण २० लाख गाजावासीको भोक–प्यास र पीडा दिनानुदिन चर्किंदै गएको छ । गाजाका झन्डै १० लाख बालबालिका विस्थापित भएको र गाजामै बसोबास गर्ने सबै बालबालिका कुनै न कुनै किसिमको हिंसा भोगेका कारण शारीरिक वा मानसिक समस्याबाट गुज्रिरहेको ह्युमन राइट्स वाचले जनाएको छ ।
७ अक्टोबर २०२३ मा सुरु भएको युद्धमा झन्डै ६० हजार प्यालेस्टाइनी नागरिकको मृत्यु भइसकेको छ । युद्धमा परी १ लाख १५ हजारभन्दा बढी बालबालिका घाइते र अंगभंग भएको
अड्कल गरिएको छ । हजारौं बालबालिका युद्धमा मातापिता गुमाएर बेसहारा बनेका छन् । जथाभावी छाडिएका हातहतियारका कारण घाइते भएका तथा लगातारको द्वन्द्व र स्थानान्तरणले मनोवैज्ञानिक समस्यामा परेका बालबालिकाको लेखाजोखा गरिएको छैन । युद्ध थामिने कुनै संकेत नदेखिएको अवस्थामा शिक्षा, पौष्टिक आहार, वृत्ति विकास, स्वच्छ वातावरणसँगै परिवारसँग हुर्कन पाउने बालबालिकाको अधिकारका विषय पूरै ओझेल परेका छन् ।
एन फ्र्यांककै डायरी सम्झाउने गरी विस्थापित महिला यस्मिनको भनाइ संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओचा) को प्रतिवेदनमा समावेश छ । ‘बच्चाका लागि डाइपर नभएर प्लास्टिकको थैलाले काम चलाउनु परिरहेको छ । यसले छालाको संक्रमण हुने जोखिम बढाएको छ,’ गाजाको खान युनस क्षेत्रमा रहेकी उनले भनेकी छन्, ‘मेरो बच्चाले हाँस्न छोड्यो, खेल्न पनि जाँदैन, दूध खान मन गर्दैन । सधैं झोक्राइरहन्छ, सुतिरहन्छ ।’
आक्रमणमा नपरेका र अभिभावक नगुमाएका बालबालिकाको स्थिति पनि दिन प्रतिदिन दयनीय बन्दै गएको यस्मिनजस्ता हजारौं आमाको अनुभवले देखाउँछ । अहिलेकै अवस्था लम्बिए सेप्टेम्बर अर्थात् अबको ५ महिनामा ४ लाख ७० हजार (गाजाको जनसंख्याको २२ प्रतिशत) ले गम्भीर भोकमरी र कुपोषणको सिकार बन्नुपर्ने प्रक्षेपण ओचा र युनिसेफका पछिल्ला अपिल र प्रतिवेदनले सार्वजनिक गरेका छन् । १४ हजारभन्दा बढी बालबालिका अत्यन्तै डरलाग्दो कुपोषणको चपेटामा पर्न सक्ने अवस्था रहेको राष्ट्रसंघीय निकायहरूको भनाइ छ ।
मार्च २ मा इजरायली नाकाबन्दी सुरु भएयता गाजामा कुपोषणका कारण ५७ बालबालिकाको मृत्यु भएको रिपोर्ट छ । अहिलेको खाद्य नाकाबन्दी नरोकिए लगभग १४ हजारभन्दा बढी बालबालिकाको जीवन तत्काल जोखिममा पर्ने प्यालेस्टिनी अधिकारीहरूले पनि बताउँदै आएका छन् । विश्वसामु टीभी र सामाजिक सञ्जालमा ‘लाइभ’ भइरहेको इजरायल–हमास युद्धको चपेटाबाट बालबालिका र सर्वसाधारणलाई जोगाउने विषयमा अत्यास बढाएको छ ।
सन् १९४७ मा इजरायल स्थापना हुनुभन्दा केही समयअघि सकिएको दोस्रो विश्वयुद्धमा अनाथ, विस्थापित वा मृत्यु भएका बालबालिकाको संख्या झन्डै १ करोड ३० लाख थियो । यस किसिमको त्रासदीपश्चात् बाल अधिकारसम्बन्धी सन्धि, अन्तर्राष्ट्रिय मानवीय कानुन निर्माण, अन्तर्राष्ट्रिय आपराधिक अदालत स्थापना, द्वन्द्वमा बालबालिकाको प्रयोगविरुद्ध कानुनी र विश्वव्यापी सुधारका पहल भए पनि युद्धमा सबैभन्दा धेरै बालबालिका नै पिल्सिने गरेको इतिहास छ ।
जस्तो– सन् १९९४ को रुवान्डा नरसंहारमा १ सय दिनभित्र झन्डै ८ लाख मानिसले ज्यान गुमाएको र त्यसमा ३ लाख बालबालिका रहेको तथ्यांक छ । सन् २०११ मा सुरु भएर भर्खरै थामिएको सिरियाली गृहयुद्धमा पनि बालबालिका नै बढी प्रताडित भएका थिए । युनिसेफको एक प्रतिवेदनअनुसार सिरियाली गृहयुद्धको १० वर्षमा घाइते वा मृत्यु भएका बालबालिकाको संख्या १२ हजारभन्दा बढी थियो । प्रत्येक ८ घण्टामा एक बालबालिका युद्धको सिकार हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
सिरियाली गृहयुद्धकै क्रममा ५ हजार ७ सयभन्दा बढी बालबालिकालाई सैनिकका रूपमा भर्ती गरिएको थियो भने १३ सय विद्यालय तथा अस्पतालमा आक्रमण भएको थियो । युद्धका क्रममा अंगभंग, बलात्कार, उत्पीडन, मनोवैज्ञानिक जटिलताजस्ता दीर्घकालीन समस्यामा पनि बालबालिका पर्ने गरेका छन् ।
२०१५ यता अनेक नाममा निरन्तर द्वन्द्व र हिंसामा फस्दै आएको यमनमा पनि बालबालिका प्रताडित छन् । सेभ द चिल्ड्रेनको तथ्यांकका अनुसार सन् २०१५ देखि २०१८ सम्मको अवधिमै यमनमा पाँच वर्षमुनिका लगभग ८५ हजार बालबालिकाको द्वन्द्व, भोकमरी वा महामारीबाट मृत्यु भएको थियो । अहिले पनि त्यहाँ ६ लाखभन्दा बढी बालबालिका तीव्र कुपोषणको सिकार छन् । तीमध्ये १ लाख २० हजारको अवस्था गम्भीर रहेको विश्व खाद्य कार्यक्रमले जनाएको छ । यमनको स्वास्थ्य सेवा प्रणाली ध्वस्त भएको छ । खाद्य संकट र रोगको महामारीले बालबालिकालाई आधारभूत सेवा र जीवन रक्षा सुविधाबाट वञ्चित गराएको छ ।
पछिल्ला वर्षको रुस–युक्रेन युद्धमा ज्यान गुमाउने, घाइते हुने, युद्धका जोखिमपूर्ण काममा प्रयोग हुने बालबालिकाको संख्या हजारौं छ । अफ्रिकी महादेशका कंगो, सुडान, लिबियाका गृहयुद्धमा पीडित बालबालिकाको संख्याले पनि मानवअधिकार र मानवीय कानुनमा संवेदनशीलहरूलाई विश्वव्यापी रूपमै झस्काउने गरेको छ । हमासले ७ अक्टोबर २०२३ मा आक्रमण गर्दासमेत ३७ बालबालिकाको मृत्यु भएको थियो । त्यो दिन ३६ बालबालिकालाई अपहरण गरेर गाजा लगिएको थियो । त्यही दिनदेखि इजरायल–हमास युद्ध चलिरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र पश्चिमा बहसमा भने इजरायली बालबालिकामाथिको आक्रमण भयावह रूपमा चित्रण गरिने तर गाजामा दिनुहँ ज्यान गुमाउने प्यालेस्टिनीहरू ‘फुटनोट’ मा पर्ने गरेको भन्दै आलोचना हुने गरेको छ । इतिहासविद् तथा लेखक विलियम डारिम्पलले एक्समा भनेका छन्, ‘निर्दोष नागरिकले कहीं पनि ज्यान गुमाउनु दुःखद र भयावह कुरा हो । तर दुई जना इजरायलीको हत्या भएको घटना विश्वव्यापी हेडलाइन बनिरहँदा त्यही दिन गाजामा ज्यान लिइएका ६१ जना भने ‘फुटनोट’ मा समेत किन पर्दैनन् ?’
गाजाका बालबालिकाप्रति चिन्ता
गाजामा रहेका झन्डै २१ लाख मानिसका लागि राहत सामग्री रोक्ने र आपत्कालीन सेवामा रहेका कर्मचारीमाथि आक्रमण गर्ने इजरायली नीतिको विरोध बढ्दै गएको छ । आफ्नो मृत्युअघि गाजाका बासिन्दासँग दिनहुँ भिडियो कल गर्ने गरेका क्याथोलिक इसाईहरूका धर्मगुरु पोप फ्रान्सिसले भनेका थिए, ‘म युद्धका क्रममा घाइते, अंगभंग र मृत्यु भएका बालबालिकासँगै द्वन्द्वमा अस्ताएका निर्दोष र भविष्य समाप्त पारिएकाहरूबारे सोचेर चिन्तित छु । म द्वन्द्वमा आफ्ना बालबालिका गुमाएका आमा र आफ्ना आमा गुमाएका बालबालिकाबारे चिन्तित छु ।’
युद्धका क्रममा आफ्ना कर्मचारी र पूर्वाधारमा आक्रमण हुँदासमेत राहत र उद्धारका लागि डटेका संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधि र आधिकारिक व्यक्तिहरूले इजरायलको युद्धप्रति रवैया र बालबालिकालाई तारो बनाउने कदमको विरोध गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघीय विशेषदूत फ्रान्सेन्स्का अल्बानिजले सुरक्षित क्षेत्रसम्बन्धी इजरायलको दाबीमाथि व्यंग्य गर्दै भनेकी छन्, ‘खुट्टा नै नभएको एउटा बच्चा तथाकथित सुरक्षित क्षेत्रसम्म कसरी भागेर पुग्न सक्छ ?’
इजरायलले शरणार्थी शिविर, तोकिएका सुरक्षित क्षेत्र र विस्थापित टेन्टमा बसेका प्यालेस्टिनीमाथि समेत आक्रमण गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसमा सबैभन्दा पीडित बालबालिका हुने र केहीको त जलेरसमेत मृत्यु हुने गरेका तथ्य बाहिर आएका छन् ।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. रिक पिपेरकोर्नले हमासको कब्जामा रहेको प्यालेस्टिनी क्षेत्रका बालबालिकामा देखिएको कुपोषणसम्बन्धी समस्याबारे चिन्ता व्यक्त गरेका छन् । ‘यहाँका मानिस यस्तो चक्रमा फसेका छन्, जहाँ पोषणयुक्त खानाको अभाव, रोग र कुपोषणले घेरेको छ । पर्याप्त पोषणयुक्त खाना, सफा पानी र स्वास्थ्य सेवामा पहुँच नहुँदा एउटा सिंगो पुस्ता स्थायी रूपमा प्रभावित हुने देखिन्छ ।’
गाजामा जारी मानवीय संकटबारे युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल तथा अन्य राष्ट्रसंघीय अधिकारीले पनि गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार करिब तीन महिनादेखि इजरायलले गरेको नाकाबन्दीका कारण प्यालेस्टाइन र गाजाका हजारौं बालबालिका मृत्युको जोखिममा परेका छन् ।
बीबीसीसँगको कुराकानीमा संयुक्त राष्ट्रसंघीय मानवीय प्रमुख टम फ्लेचरले गाजामा भोकमरी गहिरिँदै गएको उल्लेख गर्दै शीघ्र मानवीय पहुँचको आवश्यकता औंल्याएका छन् । गाजामा जारी मानवीय संकटलाई लिएर बेलायतले दुई दिनअघि मात्रै इजरायलसँग व्यापार वार्ता स्थगन गरेको थियो ।
बेलायती विदेश सचिव डेभिड ल्यामीले उक्त निर्णयको घोषणा गर्दै गाजाको मानवीय अवस्थालाई ‘असह्य’ भन्दै संसद्मा कडा प्रतिक्रिया व्यक्त गरेका थिए । बालबालिकासहित सर्वसाधारणको पीडा झन् गहिरिँदै गएको सन्दर्भमा बेलायत चुप बस्न नसक्ने उनको भनाइ थियो । ‘गाजाको नाकाबन्दीका कारण उत्पन्न भोकमरी र बालबालिकाको जीवनमाथिको खतरा अत्यन्तै गम्भीर छ,’ उनको भनाइ थियो, ‘यसका कारण बेलायतले इजरायलसँगको व्यापार वार्ता हाललाई स्थगन गरेको हो ।’
इजरायलको कदमविरुद्ध अमेरिकी संसद्मा आवाज उठाइरहने त्यहाँका सिनेटर बर्नी स्यान्डर्सले पनि गाजामा बालबालिकालाई भोकमरीको चपेटामा पारिनु अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको स्पष्ट उल्लंघन भएको बताएका छन् । ‘युद्ध हतियारका रूपमा बालबालिकालाई भोकमरीबाट मार्नु जेनेभा महासन्धि, विदेशी सहायता ऐन र सामान्य मानवीय मर्यादाको स्पष्ट उल्लंघन हो,’ स्यान्डर्सले ८ मार्चमा संसद्मा भनेका थिए, ‘सभ्य समाजले बालबालिकालाई भोकै मृत्यु हुन दिँदैन ।’
अमेरिकी प्रतिनिधिसभाकी सांसद अलेक्जेन्ड्रिया ओकासियो–कर्टेज (एओसी) ले गाजामा जारी संकट र त्यसमा अमेरिकी भूमिकाकै आलोचना गरेकी छन् । ‘म साना बच्चाहरूको मृत्युप्रति चिन्तित छु, म मानवअधिकारप्रति चिन्तित छु,’ उनको भनाइ छ, ‘अमेरिकी करदाताको अर्बौं डलर बराबरको हतियार प्रयोगबाट अकल्पनीय अत्याचार गरिँदै छ, म यसबारे पनि चिन्तित छु ।’
बिहीबार प्रकाशित द गार्जियनको समाचारअनुसार विश्वव्यापी दबाबपश्चात् इजरायलले केही सीमित सामग्री गाजामा प्रवेश गर्न दिन थालेको छ । तर सहायता वितरणलाई लिएर चिन्ता फैलिएको छ । ओचाकाका प्रवक्ता येन्स लार्केले औषधि, गहुँको पिठो र पोषण सामग्री बोकेका ९० ट्रक बिहीबार गाजा प्रवेश गरेको जानकारी दिएका छन् । उनका अनुसार सुरक्षा अवस्था अस्थिर हुनु, लुटपाटको जोखिम र इजरायली अधिकारीहरूसँग समन्वयको अभावका कारण सहायता वितरणमा ठूलो चुनौती रहेको बताए ।
एन फ्र्यांकले चुनौती, डर, युद्ध र असुरक्षाबीच पनि डायरीमा मानवताप्रति आशा र विश्वास प्रकट गरेकी थिइन् । ‘यी सबै कुरा हुँदाहुँदै पनि मलाई अझै विश्वास छ, मानिसको हृदय साँच्चै असल हुन्छ,’ उनले लेखेकी थिइन्, ‘संसारलाई सुधार्ने काम थाल्न मानिसले एकछिन पनि पर्खनु नपर्ने भए कति राम्रो हुने थियो !’ आशा गरौं, युद्धका बीचमा पिल्सिएका बालबालिकाले खाना, औषधि र बसोबास पाउनुपर्ने चीज राजनीतिक लेनदेन र धार्मिक विवाद निरूपणको औजार नबनोस् । र, गाजामा रहेका बालबालिकाका लागि आधारभूत सुविधा र राहत सहज बनोस् । – एजेन्सीको सहयोगमा
