काठमाडौँ — नक्कली भारतीय नोट प्रकरणमा कैद सजाय भुक्तान गरी छुट्नै लागेका बाराका युनुस अन्सारीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको हो ।
कारागार व्यवस्थापन विभागका अनुसार ललितपुरको नख्खु कारागारमा रहेका उनी अदालतको फैसलाअनुसार ६ वर्षको कैद सजाय भुक्तान गरी आइतबार छुट्दै छन् । उनी रिहा हुने भएपछि सीआईबीले अनुसन्धानका लागि उपस्थित गराइदिन विभागलाई बुधबार पत्र पठाएको छ । त्यही पत्रका आधारमा कारागारबाट रिहा भएलगत्तै अन्सारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिने सीआईबीको तयारी छ ।
अन्सारी पहिलो पटक १३ पुस २०६६ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए । उनी अर्को महिना १७ माघमा कारागार चलान भएका थिए । त्यति बेला उनी नेसनल टेलिभिजनका अध्यक्ष थिए । ६ असोज २०६७ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारी जोडिएका थिए । त्यसपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी १८ असोज २०७० मा छुटेका थिए ।
तेस्रो पटक १० माघ २०७० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरी छुटे । १० जेठ २०७६ मा पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परे । त्यसपछि उनलाई अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यही कैद सजाय उनले पूरा गर्न लागेका हुन् ।
हिरासतबाहिर राख्दा अन्सारीमाथि ‘सुरक्षा चुनौती’ देखिएकाले अनुसन्धानका लागि हिरासतमै लिनुपर्ने अवस्था आएको प्रहरीका एक अधिकारीको भनाइ छ । अन्सारी भारतीय आपराधिक गिरोहको निसानामा पर्दै आएका छन् । केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेलासमेत अन्सारीमाथि भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले २६ फागुन २०६७ मा गोली हानी हत्या प्रयास गरेका थिए ।
