सरकार भ्रष्टाचारीलाई कारबाही नगरी बचाउमा लागिरहे ठूलो आन्दोलन गर्ने दाहालको चेतावनी

जेष्ठ ९, २०८२

सुमनजंग थापा

Dahal's warning of a big protest if the government continues to protect the corrupt without taking action

पर्वत — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारी बचाउने काममा लागेको आरोप लगाएका छन् । उनले सरकारले भ्रष्टाचारीलाई कारबाही नगरी उनीहरूको बचाउमा लाग्ने काम जारी राखेमा ठूलो आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्वतले शुक्रबार कुश्मामा आयोजना गरेको जनसंवाद कार्यक्रममा उनले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारीलाई निमिट्यान्न पार्ने अभियानमा लागेकै कारण सरकारबाट बाहिरिनु परेको बताए । ‘१८ महिना सरकारको नेतृत्वमा रहँदा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री र मैले संकल्प के गरेका थियौँ भने राजनीतिक दलका नेता, भूमाफिया, बिचौलिया, राज्यको जमिन व्यक्तिको नाममा खान पल्केकाहरुप्रति कठोर बनेका थियौँ,’ उनले भने, ‘जस्तो मूल्य चुकाउन पनि तयार रहेको हाम्रो सरकारलाई बिचौलियाहरूको षड्यन्त्रमा ढालियो ।’

अध्यक्ष दाहालले माओवादीको सरकार रहिरह्यो भने आगामी चुनावमा अप्ठ्यारो पर्ने देखेर बिचौलियाको सहयोगमा आफूलाई सरकारबाट हटाइएको बताए । ‘बिचौलिया र नोकरशाही दलालहरूले दलका नेताहरूलाई आफ्नै घर र होटेलमा बोलाएर हामी त सकिने नै भयौँ, तपाईंहरुको भविष्य पनि अन्धकार हुने भो भनेर भड्काए’, उनले थपे, ‘बुढानीलकण्ठमा पुगेर तपाईंलाई प्रहरी समाउन आइसक्यो भन्ने त कहिले बालकोटमा त्यही कुरा भनेर हल्ला गराइयो ।’ 

वर्तमान सरकारका मान्छेहरू नै मुछिएर पचासौँ लाखको डिलका कुरा छताछूल्ल हुनुले सरकार जनताप्रति गम्भीर छैन भन्ने देखाएको उनले बताए । यस्ता गतिविधि तत्कालै नरोकिए उनले आन्दोलन गर्ने चेतावनीसमेत दिए । ‘विपक्षी दलको नेताको हैसियतले खबरदारी गरेको छु,’ उनले भने, ‘अपार जनसमर्थन हामीलाई प्राप्त भएको छ । सरकारलाई अन्तिम पटक सच्चिन आग्रह गर्छु ।’

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully