अख्तियारको अनुसन्धानमा रहेका सहसचिव भट्टराईसहित ५ जना एक साताको तारिखमा छुटे

जेष्ठ ८, २०८२

कान्तिपुर संवाददाता

Five people, including Joint Secretary Bhattarai, who are under investigation by the Authority, left within a week

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा पठाएकाबाट रकम असुलीको आरोप लागेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित ५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक साताको तारिखमा छाडेको छ । 

बुधबार पक्राउ गरेर हाजिरीजमानीमा राखिएका भट्टराईसहित भक्तपुरका खगेन्द्र सुवेदी, सीआईटी कलेजमा कार्यरत कविता पौडेल र हात्तीसारमा रहेको ट्राभल एजेन्सी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्कालाई अर्को साता उपस्थित हुने गरी अख्तियारले तारिखमा राखेको हो । 'उनीहरुबाट बरामद डिभाइसहरु विधिविज्ञान प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन समय लाग्ने भएकाले त्यसबेलासम्म तारिखमा छाडिएको हो,' अख्तियार स्रोतले बतायो । 

उनीहरुलाई बिहीबार अनुसन्धानका लागि अख्तियारले डाकेको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतबाट मंगलबार साँझमात्रै गृह मन्त्रालय तानिएका सहसचिव भट्टराईलाई आयोगले बुधबार सोधपुछका लागि नियन्त्रणमा लिएर बिहीबार उपस्थित हुने सर्तमा साँझ रिहा गरेको थियो । भट्टराईलाई अख्तियारको टंगालस्थित कार्यालयको हिरासतमा राखेर सोधपुछ गरिएकामा बिहीबार उपस्थित हुने सर्तमा छाडिएको थियो । 

त्रिभुवन विमानस्थलबाट गैरकानुनी रूपमा भिजिट भिसामा दुबईलगायत मुलुक पठाउन मानव तस्करसँग सेटिङ गरेको, त्यसबापत् प्रतिव्यक्ति २० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म असुल्ने गरेको लगायत आरोपमा उजुरी परेपछि अख्तियारले यस विषयमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा सहसचिव भट्टराईसहित विमानस्थलका अरू कर्मचारीसमेतका व्यक्ति अनुसन्धान दायरामा तानिएका थिए । अनुसन्धानका क्रममा भिजिट भिसामा कर्मचारीसमेतको मिलेमतो सेटिङ हुने गरेको तथ्यहरू भेटिएपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो ।

अख्तियारले बुधबार नै विमानस्थल अध्यागमनमा छापा मारेर विद्युतीय उपकरण (डिभाइस) र अन्य कागजातहरू पनि नियन्त्रणमा लिएको छ । त्यस क्रममा अख्तियारले काठमाडौंबाट एउटा ट्राभल एजेन्सी र भक्तपुरमा अरू दुई जना व्यक्तिका घरबाट पनि डिभाइस र अरू कागजातहरू नियन्त्रणमा लिएको छ । 

गृह मन्त्रालयले मंगलबार राति नै प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई तानेर उनका ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई सरुवा गरेको थियो । 

कान्तिपुर

Link copied successfully