राजनीतिक अस्थिरता कायम गर्न खोज्नेहरू सलबलाइरहेका छन् : महासचिव पोखरेल

जेष्ठ ७, २०८२

दुर्गालाल केसी

Those who are trying to maintain political instability are doing their best: General Secretary Pokharel

काठमाडौँदाङ — एमाले महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता कायम गर्न खोज्नेहरू सलबलाइरहेको बताएका छन् ।

प्रेस चौतारी दाङले बुधबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीति र समाजमा अस्थिरतामा रमाउने गलत संस्कृति मौलाइरहेको बताए । अस्थिरता बढ्दा विकास प्रभावित भइ राष्ट्र कमजोर हुने भएकाले यसतर्फ गम्भीर हुनुपर्ने उनले बताए ।

‘गठबन्धन चुनावी परिणामको बाध्यता हो । कसैको बहुमत नआएपछि गठबन्धन गर्नुपरेको हो,’ उनले भने, 'गठबन्धन गर्दा नीतिगत समझदारी र सहमति भएको हुन्छ । त्यसका आधारमा सरकारमा सहकार्य भइरहेको हुन्छ ।’

एमालेमाथि अहिले योजनाबद्ध प्रहार भइरहेको उनले बताए । ‘दुई ठूला पार्टी एकजुट भएपछि सरकार फेरिरहने धन्दा अन्त्य भएको छ,’ उनले भने, 'यसको मुख्य पात्र एमाले हो भन्ने बुझेपछि प्रहार सुरु भएको हो ।’

बलियो सरकार भएका कारण अहिले यसअघि अवरुद्ध सडक निर्माण लगायतका धेरै विकासका कामहरूले गति लिएको उनले बताए । सरकार बलियो भएकै कारण आगामी दिनमा पनि महत्त्वपूर्ण विकासका योजनाहरू तय हुन थालेको उनले बताए ।

घोराही-तुलसीपुर, लमही-घोराही सडक स्तरोन्नति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरवृद्धि, टरिगाउँ विमानस्थल स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माण लगायतका जिल्लाका योजनाहरू अबको बजेटमा समेटिने जानकारी उनले दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully