पूर्वराजा ज्ञानेन्द्रलाई मैले भेट्दा देख्ने मान्छे पनि होलान् नि : दुर्गा प्रसाईं

राप्रपा र एमालेको ग्राण्ड डिजाईन आफूलाई फसाएको प्रसाईंको दाबी

जेष्ठ ६, २०८२

विवेक पोख्रेल

When I meet the former king Gyanendra, there will be people who will see: Durga Prasai

काठमाडौँ — राजावादीले तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका दुर्गा प्रसाईंले महाराजगन्जस्थित निर्मल निवासमा पुगेर पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको प्रमाण आफूसँग रहेको बताएका छन् । तीनकुने आन्दोलनमा दुई जनाको मृत्यु र २० जना घाइते भएपछि पूर्वराजा ज्ञानेन्द्रले प्रसाईंलाई आफूले नभेटेको दाबी गरेका थिए ।

प्रहरी परिसर काठमाडौंको थुनामा रहेका प्रसाईले कान्तिपुरसँग भने, ‘म भेट्न जाँदा देख्ने मान्छे पनि होलान् नि !’ प्रसाईं राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका 'कमान्डर' तोकिएका थिए । 

प्रसाईंमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । थुनामा रहेको प्रसाईंले आफू पपुलर भएपछि राप्रपा र एमालेले ग्राण्ड डिजाईन गरेर आफूलाई फसाएको दाबी पनि सुनाए । उनले भने, ‘म जनता माझ पपुलर हुँदै थिए, राजतन्त्रको मुद्दा स्थापित गर्दै थिए त्यही कारण मलाई उनीहरुले आफ्नो डिजाईनमा पारेर फसाए । उनीहरुको उद्देश्य मलाई सिध्याउने थियो र हो ।’

थुनामा रहेको प्रसाईंले आफूले हिजोआज आन्दोलनकै घटनाबारे लेख लेखिरहेको बताए । उनले आफूले सुरुमा माओवादीलाई विश्वास गरे पनि नेपाली जनताले के पाए भनेर प्रश्न गरे । उनले भने, ‘राजा फालेर त झन् समस्या भयो, नुन व्यापारीदेखि सामान्य कुरामा पनि विदेशीको हस्तक्षेप भयो । त्यसैले जनताहरु हाम्रो आन्दोलनमा आए । यी नै आन्दोलनका बारेमा लेखिरहेको छु ।’

तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रसाईंले अनियन्त्रित तरिकाले भिडमा गाडी चलाएर निषेधाज्ञाको उल्लंघन गर्दै भिडलाई हिंस्रक बनाएका थिए । आन्दोलनकै दिन उनी काठमाडौं छोडेर भागेका थिए । भारतको आसाम पुगेर नेपालीभाषीको घरमा बसेका प्रसाईं र उनका निजी अंगरक्षक दीपक खड्कालाई २९ चैतमा प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएको थियो ।

तीनकुनेमा प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडबाट दजनौं सवारीसाधन, व्यक्तिका घर, निजी संस्था, सरकारी कार्यालय, राजनीतिक दलका कार्यालयसहितका संरचनामा क्षति पुगेको थियो । प्रहरीले यस घटनामा आपराधिक उपद्रव, संगठित अपराधमा ६१ जना र राज्यविरुद्धको कसुरमा २९ जनामाथि अनुसन्धान गरिरहेको छ । त्यसमध्ये आपराधिक उपद्रव, संगठित अपराधमा अनुसन्धानमा रहेका ३४ जना र राज्यविरुद्धको कसुरमा रहेका ३ जना हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully