महिला क्रिकेट टोली पहिलो पटक ट्वान्टी–२० विश्वकप छनोटमा

समूह चरण : बहराइनविरुद्ध नेपालको २ जित, हङकङसाग एक खेलमा पराजित र अर्को खेल वर्षाका कारण रद्द

जेष्ठ ६, २०८२

विनोद पाण्डे

The women's cricket team qualified for the Twenty20 World Cup for the first time

काठमाडौँ — नेपाली महिला क्रिकेट टोली पहिलो पटक ट्वान्टी–२० क्रिकेटको विश्वकप छनोटमा पुगेको छ । कप्तान इन्दु बर्माले पुनः एक पटक नेतृत्वदायी इनिङ्स खेलेपछि नेपालले थाइल्यान्डको राजधानी बैंककमा भइरहेको महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया क्षेत्रीय छनोटको ‘सुपर थ्री’ मा सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै विश्वकप छनोटमा पुगेको हो ।

थाइल्यान्डले अघिल्लो दिन यूएईलाई ५४ रनले पराजित गरिसकेको अवस्थामा नेपालले सोमबार यूएईविरुद्धको खेलमा विजय हात पारेमा एक खेलअगावै ट्वान्टी–२० विश्वकप छनोटमा पुग्ने समीकरण बनेको थियो । नेपालले त्यहीअनुरूप खेल्दै यूएईलाई पराजित गरी इतिहास रच्न सफल भयो । मंगलबार नेपालले थाइल्यान्डसँग प्रतियोगिताको अन्तिम खेल खेल्नेछ । ‘इतिहास रच्न सफल भएका छौं, नेपाली महिला क्रिकेटले यो स्तरको सफलता महसुस गर्न पाएको थिएन,’ कप्तान इन्दुले बैंककबाट कान्तिपुरसँग भनिन्, ‘विश्वकपमा पुग्नुभन्दा एक कदम मात्र पछाडि छौं, मंगलबार हुने थाइल्यान्डसँगको खेल जितेर एसिया च्याम्पियन बन्न चाहन्छौं ।’ 

थाइल्यान्ड र नेपालले एसियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटमा खेल्नेछन् । विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले इंग्ल्यान्डमा २०२६ मा हुने ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्नेछन् । सन् २०२४ मा भएको पछिल्लो विश्वकपमा देखाएको प्रदर्शनका आधारमा डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डसँगै अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले आफ्नो स्थान पक्का गरिसकेका छन् ।

दुई वर्षअघिको विश्वकपबाटै बंगलादेश र स्कटल्यान्डले विश्वकप छनोटमा स्थान पक्का गरेका थिए भने अमेरिकी क्षेत्रबाट अमेरिका विजेता बनेर विश्वकप छनोटमा पुगिसकेको छ । युरोप र अफ्रिकाको क्षेत्रीय छनोटबाट २–२ तथा इस्ट एसिया प्यासिफिकबाट एक गरी विश्वकप छनोटमा थप ५ टोली पुग्नेछन् । विश्वकप छनोटको मिति र आयोजक राष्ट्रको घोषणा हुन भने बाँकी छ । नेपाली महिला क्रिकेटले सन् २००७ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको हो । पहिलो सहभागितामै एसीसी महिला च्याम्पियनसिपको फाइनल पुगेर बंगलादेशसँग पराजित नेपाली टिमको प्रदर्शन त्यसयता खस्कँदो थियो । 

१८ वर्षअघिको फाइनल यात्रापछि नेपाली महिला टोलीले सोमबार पाएको उपलब्धि नै सबैभन्दा ठूलो हो । नेपालले पराजित गरेको यूएई त्यही टोली हो, जसले तीन साताअघि मात्र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । पछिल्ला वर्षहरूमा नेपालको यात्रामा बाधक बन्दै आएको यूएई यस पटक विश्वकप छनोटमा पुग्न असफल भएको छ । 

गत वर्ष जुलाईमा नेपालले श्रीलंकामा भएको एसिया कपमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा सोमबार नेपालले फेरि एक पटक त्यस्तै सानदार प्रदर्शन दोहोर्‍याएको छ । 

नेपालले टस जितेपछि ब्याटिङमा निम्त्याइएको यूएईलाई ११४–७ को स्कोरमा रोक्न सफल भयो । नेपालले पहिलो १० ओभरमा ४५ रनमात्र दिएर खेल नियन्त्रणमा राखेको थियो । यूएईकी कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । उनले ३९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरिन् । थिर्था सतीशले ३२ बलमा २१, हीना होतचाँदनीले १६ बलमा २० र लावण्य केनीले ११ बलमा १२ रन बनाइन् ।

नेपालबाट देब्रेहाते बलर मनीषा उपाध्यायले ४ विकेट लिइन् । उनले ४ ओभरमा २० रन खर्चेकी थिइन् । उनले यूएईकी कप्तान ओजालाई आउट गरेपछि नेपाल खेलमा हाबी भएको थियो । खेलपछि इन्दुले आफूले पाएको प्लेयर अफ द म्याचको पुरस्कार स्टेजमा बोलाएर मनीषालाई दिएकी थिइन् । ‘मनीषाले इकोनोमिक बलिङ गर्नुका साथै महत्त्वपूर्ण विकेट लिएर नेपाललाई राम्रो स्थितिमा ल्याइन्, त्यसैले उनी यसको हकदार थिइन्,’ इन्दुले भनिन् । कविता कुँवरले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर २ र राजमती ऐरीले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिइन् । 

इन्दुले अविजित ३० रन बनाएपछि नेपालले ३ बल अगाडि नै लक्ष्य पूरा गर्‍यो । नेपालको सुरुआत भने राम्रो थिएन । राजमती १३ बलमा ८ र कविता ८ बलमा ५ रन बनाएर आउट भइन् । ओपनर सम्झना खड्काले २७ बल खेली ३ चौका प्रहार गर्दै २१ रन बनाइन् भने उपकप्तान पूजा महतो १९ बलमा १ चौका प्रहार गरी १३ रनमा आउट भइन् । 

इन्दु र पूर्वकप्तान रुबिना क्षत्रीले ३७ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपाललाई विजय नजिक पुर्‍याए । रुबिनाले १८ बलमा ३ चौका प्रहार गरी २३ रन बनाइन् । विजयी रन बटुलेकी इन्दुले २८ बल खेल्दै २ चौका प्रहार गरिन् । रुबि पोदार ४ बलमा ६ रन बनाई अविजित रहिन् । सबै क्षेत्रमा राम्रो गर्नुका साथै हतारमा नखेली, सबैले आफ्नो जिम्मेवारी बुझेर खेल्दा विजय हात पार्न सफल भएको इन्दु बताउँछिन् । 

पहिलो चरणको खेल वर्षाले प्रभावित हुँदा नेपाल बाहिरिने स्थितिमा पुगेको थियो । समूह ‘सी’ को अन्तिम खेलमा बहराइनलाई पराजित गरेको भए हङकङ ‘सुपर थ्री’ मा पुग्ने थियो । तर त्यो खेल वर्षाले रद्द भएपछि नेपाल अगाडि बढेको हो । ‘यो भाग्यको कुरा पनि हो, तर हामीले मिहिनेत पनि गरेका छौं । प्रतियोगिताका लागि भनेर क्यानले पनि राम्रो योजना बनाएको थियो,’ इन्दुले अझै सुझाइन्, ‘महिला क्रिकेटमा अझै लगानी गर्नुपर्‍यो र म्याच खेल्ने वातावरण बनाइदिनुपर्‍यो ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully