हुम्ला विपद् घटना : तत्काल राहत र उद्धारका लागि आग्रह

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

Humla disaster incident: Request for immediate relief and rescue

काठमाडौँ — हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा एक्कासी आएको लेदोसहितको पहिरोका कारण प्रभावितलाई तत्काल राहत र उद्धारका पहल गर्न सांसदहरूले सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा राहत र उद्धारमा ढिलासुस्ती भइरहेको भन्दै समयमा नै राहत तथा पुनःउद्धार गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद ज्ञानबहादुर शाहीले हुम्लामा गएको लेदोसहितको पहिरोका कारण पीडित जनतालाई अहिलेसम्म उद्धार नगरिएको भन्दै चाँडोभन्दा चाँडो उद्धार गर्न आग्रह गरेका थिए। 'पहिरो गएको पाँच दिन नाघिसक्दा पनि राहतको कुनै टुङ्गो छैन। मन्त्री र नेताहरू अनावश्यक हेलिकप्टरमा अरू बेलामा हिँड्न सक्ने तर जनताको दुःखमा भने हेलिकप्टर किन प्रयोग हुँदैन ? कर्णालीका जनतामाथि अत्याचार गर्न बन्द गरियोस्,' उनले भने।

सांसद सूर्यकुमारी श्रेष्ठले पनि हुम्लामा गएको पहिरोका पीडितलाई समयमा नै राहतको व्यवस्था गर्न आग्रह गरेकी थिइन्। सांसद डा. स्वर्णिम वाग्लेले तनहुँमा निर्माणाधीन दोस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणमा ढिलाइ गर्न नहुने बताए।

सांसद सीताकुमारी रानाले तीन दिन वर्षाको सम्भावना रहेकाले हुन सक्ने क्षतिबाट बच्न सर्वसाधारणलाई सतर्क रहन र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आग्रह गरिन्।

सांसद सीता मिजारले सरकारी प्रणालीलाई विद्युतीकरण गर्न जरुरी रहेको बताइन्। सांसद सुनिता बरालले नेपालको आर्थिक विकासमा सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेकी थिइन्। सांसद सुमना श्रेष्ठले मिटरब्याजपीडितलाई समयमा नै न्याय दिनुपर्ने र उनीहरूको समस्या समाधान गर्नुपर्नेमा जोड दिएकी थिइन्।

सांसद सुशीला सिर्पाली ठकुरीले विदेश जाने संख्यामा वृद्धि भएको जनाउँदै स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिएकी थिइन्। सांसद सुशीला श्रेष्ठले सुशासन कायम नगर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिएकी थिइन्। सांसद सुहाङ नेम्वाङले योजना बनाउनुभन्दा पनि योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

सांसद सूर्यप्रसाद ढकालले विद्युत् प्राधिकरणको घाटाबारे यथार्थ सदनमा प्रस्तुत गर्न आग्रह गरे। सांसद सूर्यबहादुर थापाले बजेट विनियोजनका क्रममा निर्वाचित प्रतिनिधिहरूले अघि सारेका योजना समेट्न माग गरे।

सांसद हर्कमाया विश्वकर्माले झापाको बिर्तामोडमा भत्किएको पुल समयमै निर्माण हुन नसक्दा वर्षामा एम्बुलेन्ससम्म आवतजावत गर्न कठिन भएको भन्दै तत्काल निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरिन्।

सांसद हरि ढकालले राप्ती नगरपालिकामा बेथितिले सीमा नाघेको आरोप लगाउँदै नौ महिनामा चार जना अधिकृत परिवर्तन भइसकेको र अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको अवस्थामा तत्काल अधिकृत पठाउन माग गरेका थिए।

सांसद हेमराज राईले सगरमाथा संवादको सफल आयोजनामार्फत वातावरणीय संरक्षणका लागि सामूहिक प्रतिबद्धताप्रति विश्वको ध्यानाकर्षण भएको उल्लेख गरे। सांसद ज्ञानु बस्नेत सुवेदीले प्रि–मनसुन सुरु भएसँगै लेदोसहितको पहिरो गएको उल्लेख गर्दै विपद्का घटना बढ्न सक्ने अवस्थामा उद्धारका लागि सरकारले कुनै तयारी नगरेको बताएका थिए।

कान्तिपुर

Link copied successfully