काठमाडौँ — एमाले का महासचिव शंकर पोखरेलले जनतामा रहेको नैराश्यता चिर्न दुई ठूला पार्टी मिल्नुपरेको बताएका छन् ।
सोमबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले २०८४ सालको निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन नटुट्ने बताएका हुन् ।
महासचिव पोखरेलले समाजमा विखण्डनको प्रयास भइरहेको बताउँदै एमाले त्यसका विरुद्ध स्पष्टताका साथ उभिनुपर्नेमा जोड दिए । उनले एमालेमाथि प्रहार भयो भनेर खुट्टा कमाउने नभई आँट र हिम्मतका साथ खुट्टा टेक्नुपर्ने बताए ।
'एमालेमाथि जुन प्रकारको घेराबन्दी र प्रहार भइरहेको छ । त्यो प्रहार र घेराबन्दीलाई सामाना गर्ने क्षमता एमालेमा छ,' उनले भने, 'एमालेका सामु ठूला ठूला सङ्कट आउँदा एमालेले ती सबै सङ्कटको सामना गर्दै आएको छ । सबै खालका सङ्कट सामना गर्दै एमाले बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै आएको छ ।'
