हिमताल विस्फोटको जोखिम चुलिँदै

स्याटेलाइट प्रविधिमा रेकर्ड हुन नसकेका साना र अस्पष्ट तथा बरफमुनि जमिनको सतहमा बनेका हिमतालको अध्ययन हुन जरुरी रहेको विज्ञको भनाइ

जेष्ठ ५, २०८२

विद्या राई

The risk of snowmelt is rising

काठमाडौँ — गत बिहीबार राति हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा लेदोसहितको बाढी आउँदा १८ परिवार विस्थापित भए । जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार तिल्चुङ खोलाका ५ वटा काठे पुल बगे । दुई घर र १५ किलोवाट क्षमताको एक जलविद्युत् गृहमा क्षति पुगेको छ । करिब ४ सय रोपनीमा सिँचाइ गरिँदै आएको कुलो पनि बाढीले बगाएको छ ।

पानी नपरी तिलगाउँ र कञ्जुम गुम्बाको बीच भएर बग्ने सेखाङलुग्वा खोलामा लेदोसहितको बाढी आएको हो । यस्तो हुनुमा विज्ञहरूले हिमताल विस्फोटको आशंका गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले संयुक्त रूपमा गरेको प्रारम्भिक अनुसन्धानअनुसार ‘थर्मल क्रास आउटबर्स्ट’ भएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए । 

‘थर्मल क्रास आउटबर्स्ट’ भनेको तापक्रम अचानक बढ्दा जमेर बसेको हिउँ पग्लिने र फुट्ने हो । बाढी आएको दिन हुम्लाको तापक्रम १५ बाट बढेर २२ डिग्रीमा पुगेको देखियो । हिउँ पग्लेर भित्रभित्रै कटान हुँदा बस्ती जोखिममा पर्‍यो, यो एक प्रकारको हिमताल फुटेको हुन सक्ने अनुमान छ,’ प्रवक्ता केसीले भने । प्रारम्भिक अध्ययनले बिहीबार रातिको घटनामा समुद्री सतहदेखि ५ हजार ३ सय मिटरभन्दा माथिको उचाइमा रहेको हिमताल केही चर्किएको र ४ हजार ७ सय मिटरबाट लेदोसहितको बाढी सोहोरिएर ३ हजार ७ सय मिटर उचाइमा रहेको तिलगाउँ बस्तीलाई क्षति पुर्‍याएको छ । इसिमोडका एक विज्ञका अनुसार सन् २००८ मा पनि हुम्लाको नाम्खा क्षेत्र आसपास यस्तै खालका घटना भएका थिए ।

स्थानीयले पानी नै नपरी बाढी आएको सूचना दिएपछि प्राधिकरणले इसिमोडसँगको समन्वयमा अध्ययन थालेको हो । प्रारम्भिक अध्ययनबारे टोलीले सोमबार दिउँसो गृह मन्त्रालयलाई जानकारी गराएको छ । ‘विस्तृत अध्ययन गर्न प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग र इसिमोडलाई निर्देशन दिइएको छ, तत्कालका लागि सुरक्षित स्थानमा स्थानान्तरण गरिएका तिलगाउँका ३२ जनालाई राहत दिने तयारी छ,’ प्रवक्ता केसीले भने । 

अघिल्ला वर्षमा पनि जोमसोम, गोरखा, सोलुखुम्बुको थामे क्षेत्रमा हिमताल विस्फोटबाट बाढी आएर क्षति पुगेकाले हिमाली क्षेत्रमा विस्तृत अध्ययन गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको उनले बताए । ‘तापक्रम वृद्धि, जलवायु परिवर्तनको प्रभावको राम्रोसँग अध्ययन गर्नुपर्ने अवस्था छ,’ उनले भने । 

दुई महिनाअघि ‘विश्व हिउँ दिवस’ का अवसरमा संयुक्त राष्ट्रसंघले प्रकाशन गरेको ‘विश्व पानी विकास प्रतिवेदन २०२५’ ले पनि बढ्दो तापक्रमले विश्वभर नै हिउँ र हिमनदीहरू तीव्र गतिमा पग्लिने क्रम बढेको औंल्याएको छ । ‘विश्वव्यापी तापक्रम वृद्धिले हिमनदी पग्लने, हिउँको मात्रा घटाउने, बरफी माटो पगाल्ने, चरम वर्षा र प्राकृतिक विपत्ति बढाउने काम गरिरहेको छ,’ रिपोर्टमा भनिएको छ, ‘धूलो, ध्वाँसो, वायु प्रदूषण, डढेलोका कारण हिउँ र हिमनदीको सतहमा कालो कार्बन, सूक्ष्म जीव र लेउ बढिरहेका छन्, जसले हिउँ र हिमनदी पग्लिने दर बढेको छ ।’ 

हिमतालहरूको अवस्था र प्रभावबारे इसिमोडले पाँच वर्षअघि प्रकाशन गरेको रिपोर्टअनुसार नेपालसहित तटीय क्षेत्रलाई प्रभावित पार्ने गरी ४७ वटा हिमताल विस्फोटको जोखिममा छन् । त्यसमध्ये ४२ वटा कोशी नदी बेसिनमा पर्छन् । तीन वटा गण्डकी र दुई वटा कर्णाली बेसिनमा पर्छन् । नेपालभित्रै पर्ने विस्फोटको जोखिममा रहेका हिमताल २१ वटा छन् । 

इन्टरनेटमा आधारित सार्वजनिक सूचना संग्रह प्लाटफर्म गिटहबका अनुसार हालसम्म नेपालमा ५६ वटा हिमताल विस्फोटका घटना ‘रेकर्ड’ भएका छन् । तीमध्ये ३० वटा जति ठूलाखाले हिमताल विस्फोटको घटना भएको त्रिवि वातावरण विज्ञान विभागका सहप्राध्यापक तथा ग्लासियोलोजिस्ट (हिमनदीसम्बन्धी विषयका वैज्ञानिक) सुदीप ठकुरीले बताए । ‘पोहोर घटना भएको थामेको हिमताल सानो हो तर यसले ठूलो क्षति पुर्‍याएको थियो, अहिलेसम्म जति पनि जानकारीमा आएका जोखिमपूर्ण हिमताल छन्, तिनीहरूमाथिको निगरानीले मात्रै हिमताल विस्फोटको जोखिमलाई सम्बोधन गर्न सक्दैन,’ उनले भने ।

ठकुरीका अनुसार हालसम्म बरफ बाहिर देखिने र स्याटलाइट तस्बिरले पहिचान गरेका हिमतालहरूको मात्रै अध्ययन भएको हुँदा साना तथा बरफभित्र जमिनको सतहमा बनेका हिमतालबारे पर्याप्त अध्ययन भएको छैन । जसले गर्दा तिलगाउँको जस्तै विपद्को जोखिम रहेको उनी बताउँछन् । ‘हिमाली क्षेत्रमा हिउँभित्र पनि हिमतालजस्ता वाटरबडीहरू हुने गर्छन्, त्यस्ताको अध्ययन नै भएको छैन तर जमिनको तापक्रम बढिरहेको अवस्थामा त्यो महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘भौगोलिक अवस्था हेर्दा कोशी र गण्डकी जलाधार क्षेत्रमा समथर भाग बढी रहेकाले हिमतालहरूको संख्या पनि धेरै छ । त्यस्तो भूबनोट नेपालको पश्चिम (कर्णाली जलाधार क्षेत्र) मा न्यून छ तर त्यहाँ पनि हिउँको सतहमुनि तालहरू हुन सक्छन्, त्यसको अध्ययन गर्नु जरुरी छ ।’ 

जलवायुविज्ञ ङमिन्द्र दाहालले धौलागिरि हिमालदेखि पश्चिम नेपालतिर हिमशृंखला संख्या पूर्वको भन्दा कम रहेकाले हिमताल जोखिमबारे पर्याप्त अध्ययन अपुग रहेको बताए । ‘तापक्रम बढिरहेको र यसको प्रभाव बर्सेनि बढ्दै गएकाले अब भने दीर्घकालीन रूपमा सबै खोलामा हिमताल फुटेको बाढी आउन सक्ने आकलन गरेर योजनाबद्ध ढंगले वैज्ञानिक अध्ययन गरेर जोखिम न्यूनीकरणमा लाग्नु जरुरी भइसकेको छ,’ उनले भने । यसमा स्थानीय समुदायलाई सहभागी गराएर काम गर्नुपर्ने दाहालको सुझाव छ ।

विद्या विद्या राई कान्तिपुरकी संवाददाता हुन् । उनी जलवायु र लैगिंकता, मानवअधिकारलगायत सामाजिक मामिला सम्बन्धी विषयमा समाचार तथा लेख लेख्छिन् ।

Link copied successfully