मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ : अध्यक्ष दाहाल

जेष्ठ ५, २०८२

रासस

Madhyapahari Lokmarg campaign has become a national campaign: President Dahal

दैलेख — माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको बताएका छन् । मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पार्दै उनले भने, 'यो अभियान अब केबल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ ।'

जनतासँग माओवादी कार्यक्रम अन्तर्गत मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा सोमबार दैलेख आइपुगेका अध्यक्ष दाहालले ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘छ’ मा पर्न सफल भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई सम्मान गरेका थिए । अध्यक्ष थापा माओवादीबाट निर्वाचित हुन् भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ । उक्त सम्मान अध्यक्ष दाहालले प्रदान गरे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।  

रासस

Link copied successfully