काठमाडौँ — खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारबाट जार र बोतलको पानी विस्थापित हुने बताएका छन् । सिंहदरबारभित्र रहेका हरेक कार्यालयमा मेलम्चीको पानी वितरण गर्न पाइपको व्यवस्था गरिने बताउँदै उनले बोतल र जारको पानी विस्थापित हुने दाबी गरेका हुन् ।
सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी वितरण कार्य तत्काल थालिने मन्त्री यादवले बताएका हुन् ।
सिंहदरबारमा जार र मिनरल वाटरका बोतल प्रयोग हुँदै आएकोझमा तिनलाई विस्थापित गर्न उक्त कदम चालेको मन्त्री यादवको भनाइ थियो । 'आजबाट सिंहदरबारमा विधिवत रूपमा मेलम्चीको पानी आएको छ । यसभन्दा पहिले भूमिगत पानी सिंहदरबारमा आएको थियो । अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ,' उनले भने, 'सिंहदरबारमा मेलम्ची खानेपानी वितरण कार्यको विधिवत रूपमा शुभारम्भ गरेको छु । अब जार र बोतलको पानी विस्थापित हुन्छ ।'
कार्यक्रममा मन्त्रालयका सचिव प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, केयूकेएलका प्रमुख अशोक पौडेललगायतको सहभागिता रहेको थियो ।
