अवैध सुन कारोबारीको तथ्य सदनलाई जानकारी गराउन माग

जेष्ठ ५, २०८२

रासस

Demand to inform the House about the facts of illegal gold trading

काठमाडौँ — गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने क्रम अन्त्य गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रामहरि खतिवडाले केही समयअघि टोखामा समातिएको सुनमा चालकमात्र समातिएको, त्यसका साहु को हो ? भन्ने अहिलेसम्म सार्वजनिक नभएकाले सदनलाई जानकारी गराउन माग गरे। आइतबार पनि रसुवामा अवैध रूपमा ओसारपसार भइरहेको सुन समातिएको थियो । उक्त प्रकरणमा चालक पक्राउ परे पनि सुनका मालिक भने पक्राउ परेका छैनन्।

धेरै पैसा लिएर महिला कामदारलाई हाउस मेडका रूपमा विभिन्न देश पठाउन थालिएकाले कानुन बनाएर मात्र विदेश पठाउने व्यवस्था गर्न पनि उनको माग थियो।

सांसद मनिष झाले न्यायालयप्रतिको विश्वास कम हुन थालेकाले विश्वास बढाउने वातावरण मिलाउन माग गरे। सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जिल्लामा १४६ प्रकारका गुठी रहेको र त्यसका कारण किसान पीडामा रहेकाले विधेयक ल्याएर गुठी समस्या समाधान गर्नुपर्ने बताए।  

त्यस्तै, सांसद रणकुमारी बलम्पाखी मगरले घरेलु मदिरा उत्पादनलाई मान्यता दिने नीति बजेटमार्फत ल्याउन माग गरिन्। सांसद रमा कोइराला पौडेललले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले भक्तपुरको हनुमन्ते खोला किनारमा ढल बिच्छ्याउन सुरू गरेकामा अलपत्र भएकाले छिटो सम्पन्न गर्न माग गरिन्।

सांसद रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलगायतलाई प्रवर्द्धन गर्नेगरी विशेष बजेटको व्यवस्था गर्न माग गरिन्।  

रासस

Link copied successfully