परराष्ट्रमन्त्रीसँग युरोपियन युनियन आबद्ध राजदूतहरूको शिष्टाचार भेट

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

Courtesy meeting of the ambassadors of the European Union with the Minister of Foreign Affairs

काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियन आबद्ध देशका काठमाडौँस्थित राजदूत तथा नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत एवं मिसन प्रमुखहरूले शिष्टाचार भेट गरेका छन्।

आज मन्त्रालयमा भएको सो भेटका क्रममा नेपाल र युरोपियन युनियन एवं युनियनका सदस्य राष्ट्रहरूको सम्बन्धका विविध विषयहरूका साथै आपसी हित र साझा चासोका विषयमा कुराकानी भएको थियो।

त्यस अवसरमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा युरोपियन युनियन र यसमा आबद्ध राष्ट्रहरूले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी थिइन्। साथै उहाँले नेपाल सरकारले हिजो मात्र सम्पन्न गरेको सगरमाथा संवादमा युरोपियन युनियनका सदस्य राष्ट्रहरूका तर्फबाट भएको सहभागिताका लागि पनि धन्यवाद व्यक्त गरेकी थिइन्।

मन्त्री डा. राणाले पछिल्लो समयमा नेपाल जलवायु परिवर्तनको असरबाट अकल्पनीय रूपमा पीडित भइरहेको र नेपालले अन्तर्राष्ट्रिय रूपमा जलवायु न्याय माग गरिरहेकाले नेपालको यस अभियानमा साथ र सहयोगका लागि युरोपियन युनियनका सदस्य राष्ट्रहरूलाई आग्रह गरेकी थिइन्।

उनले सो शिष्टाचार भेटका क्रममा युरोपियन युनियनका सदस्य राष्ट्रहरूसँग नेपालमा पर्यटन, कृषि, पूर्वाधार निर्माण, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीका लागि आफ्ना देशका निजी क्षेत्रलाई प्रोत्साहित गर्न आग्रह गरेकी थिइन्।

नेपाल सन् २०२६ पछि अति कम विकसित राष्ट्रबाट स्तरोन्नति हुन लागेकामा नेपाललाई त्यसपछिको आवश्यक सहयोगका लागि पनि मन्त्री डा. राणाले युरोपियन युनियन आबद्ध राजदूतहरूमार्फत युरोपियन युनियनका सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरिन्। सो शिष्टाचार भेटमा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियन र आबद्ध सदस्य राष्ट्रका २० जना मिसन प्रमुख तथा राजदूत सहभागी थिए।

कान्तिपुर संवाददाता

Link copied successfully