सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ५ जनाविरुद्ध पौने ६ करोडको भ्रष्टाचार मुद्दा

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

6 million corruption case against 5 people including the then Executive Director of Information Technology Center Poudel

काठमाडौँ — राष्ट्रिय सूचना प्रविधि केन्द्रको उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पौडेलसहित तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र म्याक्स इन्टरनेसनल प्रालि र यसका सीईओ अकबर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पौडेलविरुद्ध अख्तियारले ५ करोड ७९ लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा हिनामिना भएको बिगो असुलउपर गर्न मागदाबी लिइएको छ । तत्कालीन सहायक निर्देशक पोखरेल र कम्प्युटर इन्जिनियर गायकविरुद्ध पनि कायम गरिएको एकमुष्ट बिगोबमोजिम कैद र जरिवाना मागदाबी गरिएको छ ।

लेखा अधिकृत वली र म्याक्स इन्टरनेसनलका सीईओ हुसेनविरुद्ध पनि समान बिगोबमोजिम कैद र जरिवाना तथा हिनामिना भएको बिगो असुलउपर गर्न मागदाबी लिइएको छ । आर्थिक वर्ष २०७५/०७६ का लागि उपकरण खरिद गर्दा सार्वजनिक खरिद योजना तयार नगरी काम गरेको, लागत अनुमानसँग स्वीकृत प्राविधिक मूल्यांकन मिल्ने गरी विस्तृत रूपमा दरभाउ पेसका लागि मिलेमतो गरेको, लागत अनुमान नबनाई एकमुष्ट दरबाट खरिद नगरेकोलगायत अभियोग लगाइएको छ ।

प्रतिवादी बनाइएका पौडेल पछिल्लो पटक केन्द्रकै प्रविधि खरिद प्रकरणमा अख्तियारबाटै मुद्दा दायर भएकामा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् । मुद्दा दायर हुँदा नेपाल टेलिकमको प्रबन्ध निर्देशक रहेका उनीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन, विदेशमा गैरकानुनी रूपमा खाता खोली पैसा राखेको कसुरमा पनि मुद्दा दायर भएकोमा दोषी ठहर भइसकेका छन् । उनी अहिले  विशेष अदालतको फैसलापछि कारागारमा छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully