‘चिकेन नेक’ नजिकै चिनियाँ लगानीमा हवाई मैदान निर्माण योजनाले भारत सशंकित

जेष्ठ ४, २०८२

पर्वत पोर्तेल

India is suspicious of the plan to build an airport with Chinese investment near the 'Chicken Neck'

विराटनगर — बंगलादेशको उत्तरपश्चिमी रंगपुर डिभिजनअन्तर्गत पर्ने लालमोनिरहाट जिल्लामा चिनियाँ लगानीमा हवाई मैदान निर्माणको योजना अघि बढेसँगै भारतले गम्भीर चासो व्यक्त गरेको छ ।

रणनीतिक रूपमा अति संवेदनशील मानिने चिकेन नेक (सिलीगुडी करिडोर) क्षेत्रबाट उक्त निर्माणस्थल करिब ७० किलोमिटर टाढा पर्छ । हालै चिनियाँ प्राविधिक टोलीले निर्माणस्थलको अवलोकन भ्रमण गरेको पुष्टि भएपछि यो हवाई मैदान सम्भावित सैन्य निगरानी केन्द्र हुन सक्ने भन्दै भारत सशंकित बनेको हो ।

भारतको सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण मानिने पूर्वोत्तर राज्यहरूलाई बाँकी भारतसँग सिलीगुडी करिडोरले जोड्छ । कुखुराको घाँटी जस्तै साँघुरो यो करिडोरको चौडाई करिब २२ किलोमिटर मात्रै छ । यसले नेपालको पूर्वी भाग, बंगलादेशको उत्तरी भूभाग, चीनको दक्षिण र भुटानको पश्चिम सीमा समेत जोड्छ । यसलाई गेटवे अफ नर्थ इष्ट पनि भनिन्छ ।

जसले पूर्वोत्तरका असम, मेघालय, अरुणाञ्चल, मणिपुर मिजोरम, त्रिपुरा जस्ता संवेदनशील राज्यहरु जोड्छ । यस्तो संवेदनशील क्षेत्र नजिकै विदेशी संलग्नतामा ठूलो परियोजना निर्माण हुन लाग्नु भारतका लागि ‘टाउको दुखाई’ भएको सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय अखबार ‘द इकोनोमिक टाइम्स’ ले लेखेको छ ।

चीनको संलग्नतामा बनिरहेको हवाई मैदानबाट भारतको सैन्य गतिविधिमा निगरानी गर्न सकिने, जासुसी सम्भावना रहने र सुरक्षा सन्तुलनमा असर पार्न सक्ने भारतीय अधिकारीको आशंका छ । उक्त हवाई मैदान भारतीय सैन्य हेडक्वार्टर (सुकुना) र हसिमारा एयरबेस (जहाँ रफाल लडाकु विमानहरू छन्) नजिकै पर्छ ।

हवाई मैदान निर्माणमा पाकिस्तानी निर्माण कम्पनीको संलग्नताको कुरा पनि आएको छ । जसले भारतमा चीन–पाकिस्तान–बंगलादेशबीचको सम्भावित गठजोडले थप चिन्ता बढाएको छ । बंगलादेशले चाहीँ यो परियोजना नागरिक प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ । तर, भारतको रक्षा र गुप्तचर निकायहरू भने यसको रणनीतिक निहितार्थ प्रति सतर्क बन्न थालेका छन् । 

शेख हसिनाको सत्ता पतनपछि भारत–बंगलादेश सम्बन्धमा चिसोपन देखिन थालेको छ । दुई देशबीचको आयात–निर्यात व्यापारदेखि यातायात सेवा र जनस्तरको आवागमनमा समेत दरार उत्पन्न हुँदै गएको छ ।

भारतले बंगलादेश हुँदै आउने तयारी पोशाक र खाद्य वस्तुको आयातमा भर्खरै प्रतिबन्ध लगाइसकेको छ । यसअघि नै भारतले बंगलादेशी नागरिकहरूको निर्वाध आउजाउमा कडाइ सुरु गरिसकेको थियो । पछिल्लो राजनीतिक परिवर्तनसँगै दुई छिमेकीबीचको दूरी झन् बढ्न थालेको हो ।

भारत–बंगलादेश सम्बन्धमा देखिएको यो चिसोपन चीनको बढ्दो संलग्नतासँग प्रत्यक्ष सम्बन्धित रहेको विश्लेषण गर्न थालिएको छ । 

बंगलादेशमा चिनियाँ लगानी र प्राविधिक सहयोगका परियोजनाहरू तीव्र गतिमा विस्तार भएसँगै भारतमा सुरक्षा र कूटनीतिक चिन्ता थपिएको हो ।

सामरिक रूपमा संवेदनशील क्षेत्रहरूमै चीनको उपस्थिति बढ्दै जाँदा भारतको असहजता सार्वजनिक रूपमा प्रकट हुन थालेको विश्लेषण गर्न थालिएको छ । यसले आगामी दिनमा भारत–बंगलादेशबीचको सम्बन्ध अझै चिसिन सक्ने संकेत देखिन थालेको छ ।

भारतले सीमावर्ती क्षेत्रको सुरक्षा कडा बनाउन थालिसकेको छ । पश्चिम बंगाल सरकार अन्तर्गतको प्रहरी प्रशासनले उत्तर बंगालका जिल्लाहरूमा सेनाको पोशाक (आर्मी फेटिग) बिक्रीमा प्रतिबन्ध लगाउनुका साथै, अनधिकृत ड्रोन प्रयोगमाथि पूर्ण प्रतिबन्ध गरेको छ ।

सिलिगुडी करिडोर क्षेत्रमा सुरक्षा निकायहरूको संयुक्त अभ्यास (मल्टी एजेन्सी ड्रिल) समेत सुरु भएको छ । जसले आपतकालीन परिस्थितिमा प्रतिकार गर्ने क्षमता अभिवृद्धि गर्ने लक्ष्य राख्छ । 

चीन, बंगलादेश र पाकिस्तानबीचको सम्भावित रणनीतिक समन्वयको संकेत भारतका लागि दीर्घकालीन चुनौती बन्न सक्ने आंकलन भारतीय विश्लेषकहरूको छ । दक्षिण एसियाको शक्ति सन्तुलनमा असर पार्ने खालका यस्ता गतिविधि नेपालजस्ता छिमेकी राष्ट्रहरूका लागि पनि चासोको विषय बन्नुपर्ने विशेषज्ञ बताउँछन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully