विराटनगर — बंगलादेशको उत्तरपश्चिमी रंगपुर डिभिजनअन्तर्गत पर्ने लालमोनिरहाट जिल्लामा चिनियाँ लगानीमा हवाई मैदान निर्माणको योजना अघि बढेसँगै भारतले गम्भीर चासो व्यक्त गरेको छ ।
रणनीतिक रूपमा अति संवेदनशील मानिने चिकेन नेक (सिलीगुडी करिडोर) क्षेत्रबाट उक्त निर्माणस्थल करिब ७० किलोमिटर टाढा पर्छ । हालै चिनियाँ प्राविधिक टोलीले निर्माणस्थलको अवलोकन भ्रमण गरेको पुष्टि भएपछि यो हवाई मैदान सम्भावित सैन्य निगरानी केन्द्र हुन सक्ने भन्दै भारत सशंकित बनेको हो ।
भारतको सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण मानिने पूर्वोत्तर राज्यहरूलाई बाँकी भारतसँग सिलीगुडी करिडोरले जोड्छ । कुखुराको घाँटी जस्तै साँघुरो यो करिडोरको चौडाई करिब २२ किलोमिटर मात्रै छ । यसले नेपालको पूर्वी भाग, बंगलादेशको उत्तरी भूभाग, चीनको दक्षिण र भुटानको पश्चिम सीमा समेत जोड्छ । यसलाई गेटवे अफ नर्थ इष्ट पनि भनिन्छ ।
जसले पूर्वोत्तरका असम, मेघालय, अरुणाञ्चल, मणिपुर मिजोरम, त्रिपुरा जस्ता संवेदनशील राज्यहरु जोड्छ । यस्तो संवेदनशील क्षेत्र नजिकै विदेशी संलग्नतामा ठूलो परियोजना निर्माण हुन लाग्नु भारतका लागि ‘टाउको दुखाई’ भएको सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय अखबार ‘द इकोनोमिक टाइम्स’ ले लेखेको छ ।
चीनको संलग्नतामा बनिरहेको हवाई मैदानबाट भारतको सैन्य गतिविधिमा निगरानी गर्न सकिने, जासुसी सम्भावना रहने र सुरक्षा सन्तुलनमा असर पार्न सक्ने भारतीय अधिकारीको आशंका छ । उक्त हवाई मैदान भारतीय सैन्य हेडक्वार्टर (सुकुना) र हसिमारा एयरबेस (जहाँ रफाल लडाकु विमानहरू छन्) नजिकै पर्छ ।
हवाई मैदान निर्माणमा पाकिस्तानी निर्माण कम्पनीको संलग्नताको कुरा पनि आएको छ । जसले भारतमा चीन–पाकिस्तान–बंगलादेशबीचको सम्भावित गठजोडले थप चिन्ता बढाएको छ । बंगलादेशले चाहीँ यो परियोजना नागरिक प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ । तर, भारतको रक्षा र गुप्तचर निकायहरू भने यसको रणनीतिक निहितार्थ प्रति सतर्क बन्न थालेका छन् ।
शेख हसिनाको सत्ता पतनपछि भारत–बंगलादेश सम्बन्धमा चिसोपन देखिन थालेको छ । दुई देशबीचको आयात–निर्यात व्यापारदेखि यातायात सेवा र जनस्तरको आवागमनमा समेत दरार उत्पन्न हुँदै गएको छ ।
भारतले बंगलादेश हुँदै आउने तयारी पोशाक र खाद्य वस्तुको आयातमा भर्खरै प्रतिबन्ध लगाइसकेको छ । यसअघि नै भारतले बंगलादेशी नागरिकहरूको निर्वाध आउजाउमा कडाइ सुरु गरिसकेको थियो । पछिल्लो राजनीतिक परिवर्तनसँगै दुई छिमेकीबीचको दूरी झन् बढ्न थालेको हो ।
भारत–बंगलादेश सम्बन्धमा देखिएको यो चिसोपन चीनको बढ्दो संलग्नतासँग प्रत्यक्ष सम्बन्धित रहेको विश्लेषण गर्न थालिएको छ ।
बंगलादेशमा चिनियाँ लगानी र प्राविधिक सहयोगका परियोजनाहरू तीव्र गतिमा विस्तार भएसँगै भारतमा सुरक्षा र कूटनीतिक चिन्ता थपिएको हो ।
सामरिक रूपमा संवेदनशील क्षेत्रहरूमै चीनको उपस्थिति बढ्दै जाँदा भारतको असहजता सार्वजनिक रूपमा प्रकट हुन थालेको विश्लेषण गर्न थालिएको छ । यसले आगामी दिनमा भारत–बंगलादेशबीचको सम्बन्ध अझै चिसिन सक्ने संकेत देखिन थालेको छ ।
भारतले सीमावर्ती क्षेत्रको सुरक्षा कडा बनाउन थालिसकेको छ । पश्चिम बंगाल सरकार अन्तर्गतको प्रहरी प्रशासनले उत्तर बंगालका जिल्लाहरूमा सेनाको पोशाक (आर्मी फेटिग) बिक्रीमा प्रतिबन्ध लगाउनुका साथै, अनधिकृत ड्रोन प्रयोगमाथि पूर्ण प्रतिबन्ध गरेको छ ।
सिलिगुडी करिडोर क्षेत्रमा सुरक्षा निकायहरूको संयुक्त अभ्यास (मल्टी एजेन्सी ड्रिल) समेत सुरु भएको छ । जसले आपतकालीन परिस्थितिमा प्रतिकार गर्ने क्षमता अभिवृद्धि गर्ने लक्ष्य राख्छ ।
चीन, बंगलादेश र पाकिस्तानबीचको सम्भावित रणनीतिक समन्वयको संकेत भारतका लागि दीर्घकालीन चुनौती बन्न सक्ने आंकलन भारतीय विश्लेषकहरूको छ । दक्षिण एसियाको शक्ति सन्तुलनमा असर पार्ने खालका यस्ता गतिविधि नेपालजस्ता छिमेकी राष्ट्रहरूका लागि पनि चासोको विषय बन्नुपर्ने विशेषज्ञ बताउँछन् ।
