काठमाडौँ — ‘सगरमाथा संवादमा शनिबारका सत्रमा सहभागी विज्ञले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूलाई वित्तीय सहयोग पहुँचयोग्य बनाउनुपर्ने धारणा राखेका छन् । संवादको दोस्रो दिन आयोजित ‘पहाडी क्षेत्रमा क्षति र हानिनोक्सानीको सम्बोधन’ विषयक अन्तरक्रियामा उनीहरूले यस्तो बताएका हुन् ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको ‘लस एन्ड ड्यामेज फन्ड’ का कार्यकारी निर्देशक इब्राहिमा चेख डिओङले जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रलाई सहयोग गर्न २ सय ५० मिलियन अमेरिकी डलर परिचालनका लागि पहल गर्ने निर्णय भएको बताएका छन् ।
उनले जलवायु परिवर्तनबाट प्रभावित र अति आवश्यक राष्ट्रलाई सहयोग गर्न कोष तयार भएको समेत बताए । ‘हाम्रो बोर्डले २५० मिलियन अमेरिकी डलर परिचालन गर्ने र यसका लागि पहल गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘जब हामी धेरै स्रोतहरू परिचालन गर्छौं तब जलवायु परिवर्तनमा प्रभावकारी काम गर्न क्रियाशील हुन्छौं ।’ उनले ‘लस एन्ड ड्यामेज फन्ड’ ले जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रलाई उक्त फन्डमा पहुँचयोग्य बनाउनसमेत काम गरिरहेको जानकारी दिए ।
‘अहिले हाम्रो फन्ड विभिन्न सरोकारवालासँग मिलेर त्यसलाई पहुँचयोग्य बनाउन र त्यसका उपायहरूका लागि काम गरिरहेको छ,’ उनले भने, ‘जसको सबैभन्दा धेरै आवश्यकता छ, तिनलाई उपलब्ध होस् भन्ने सुनिश्चित गर्दै छौं ।’ जलवायु परिवर्तनको समाधानमा सबैको साझेदारी आवश्यक रहेको र सामूहिक समाधानमा लाग्नुपर्नेमा उनले जोड दिए ।
उनले नेपाल जलवायु परिवर्तनबाट प्रभावित भएको र समुदायको जीविकोपार्जनमा संकट पर्दै गइरहेकोले सहयोग गर्न कोष तयार रहेको बताए । यूएनडीपीका ‘क्लाइमेट चेन्ज एन्ड रेसिलेन्स प्रोग्राम’ एनालिस्ट दीपक केसीले नेपालले उक्त फन्डमा पहुँच पाउनुपर्ने बताएका थिए । सगरमाथा संवादमार्फत नेपालले आफ्ना लागि फन्डको आवश्यकताबारे जानकारी दिन सफल भएको उनले सुनाए ।
भारतका विज्ञान तथा प्रविधि विभागका डा.अनिलकुमार गुप्ताले सीमित क्षमतामा रहेका समुदायले उक्त फन्डमा पहुँच पुर्याउन सबै राष्ट्रले सहयोग गर्नुपर्ने बताए । थाइल्यान्डको ‘क्राइसिस ब्युरो यूएनडीपी’ का कार्यक्रम विशेषज्ञ (विश्वव्यापी) राजेश शर्माले जलवायु परिवर्तनको कारणले हुने हानिनोक्सानीको लेखाजोखा गर्न यूएनडीपीले काम गरिरहेको जानकारी दिए ।
वातावरणविद् डा.सिन्धु ढुंगानाले जलवायु परिवर्तनका कारण नेपालको पर्वतीय अर्थतन्त्र प्रभावित भएको बताए । ‘त्यो अर्थतन्त्रलाई उकास्न र विकसित गर्न हामीले जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्छ । त्यसमा जलवायु परिवर्तन कोष, साथै विज्ञान र प्रविधिको समेत सहयोग चाहिन्छ, उनले भने, ‘अब नेपालले ५० वर्षको पर्वतीय क्षेत्रको खाका बनाउनुपर्छ ।’
खुम्बु पासाङ ल्हामु शेर्पा गाउँपालिकाकी उपाध्यक्ष टासी ल्हामु शेर्पाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले प्रभाव पारेको र यसको प्रवर्द्धनमा नेपाल सरकार र अन्तर्राष्ट्रिय स्तरबाट लाग्नुपर्नेमा जोड दिइन् ।
‘गत वर्ष थामेमा हिमताल विस्फोट हुँदा क्षति भोग्यौं । त्यहाँ भएका स्थानीयले आफ्नो जीवनभरिको कमाइ गुमाउनुपर्यो,’ उनले भनिन्, ‘शेर्पा सांस्कृति महत्त्व बोकेको गाउँ नै अहिले विस्थापित हुने अवस्थामा पुगेको छ ।’ थामेमा आएको बाढीबाट प्रभावितको राहत र पूर्वाधारमा गाउँपालिकाले काम गरे पनि विस्थापितको पुनरुत्थानका लागि भने फन्डको आवश्यकता पर्नेमा उनले जोड दिइन् ।
