प्रधानमन्त्री ओलीको दाबी : नेपालमा कुनै संकट छैन

जेष्ठ ३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Oli's claim: There is no crisis in Nepal

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा कुनै पनि प्रकारको संकट नरहेको दाबी गरेका छन्। उनले सबैलाई ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरेका छन्।

शनिबार बल्खुमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हालको परिस्थितिलाई अनुकूल अवसरका रूपमा व्याख्या गरे। तर, त्यही अनुकूलतालाई लक्षित गरी राजनीतिक, दलगत र व्यक्तिगत रूपमा आफूमाथि हमला भइरहेको जिकिर गरे।

'आजको परिस्थिति एउटा अनुकूल परिस्थिति हो,' प्रधानमन्त्री ओलीले भने, 'यसलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण, त्यो पनि पार्टी विशेष र पार्टी अध्यक्षमाथि व्यक्तिगत रूपमा केन्द्रित गरेर हमला भइरहेको छ।'

महाभारत युद्धको प्रसङ्ग जोड्दै उनले युधिष्ठिरलाई बन्दी बनाए युद्ध सकिन्छ भन्ने सोच जसरी अहिले आफूलाई केन्द्रमा राखेर हमला गरिएको दाबी गरे। 'नेता समाप्त पारियो भने पार्टी समाप्त पार्न सजिलो हुन्छ भन्ने उनीहरूले बुझेका छन्,' उनले भने।

प्रधानमन्त्री ओलीले नेकपा एमाले कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको र मुलुकमा हाल कुनै ‘क्राइसिस’ नरहेको स्पष्ट गरे। उनले भने, 'हामीकहाँ केही कुराको पनि त्यस्तो संकट छैन। तपाईँहरू एकदम ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्नुस्।'

मार्गदर्शक विचारको रूपमा मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद रहेको उल्लेख गर्दै उनले मदन भण्डारी र जीवराज आश्रितजस्ता नेताबाट वैचारिक मार्गदर्शन पाइरहेको बताए।

'हामी सत्यको मार्गमा छौँ, अन्तिम विजय सत्यकै हुनेछ,' प्रधानमन्त्री ओलीले सम्बोधनको अन्त्यमा भने ।

कान्तिपुर संवाददाता

Link copied successfully