एमालेविरुद्ध आक्रमण जारी छ : अध्यक्ष ओली

जेष्ठ ३, २०८२

कान्तिपुर संवाददाता

Attack against UML continues: President Oli

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध आक्रमण जारी रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले दुनियाँभर विभिन्न प्रकारका कुप्रचारहरू भइरहेको उल्लेख गरे।

उनले एमालेविरुद्ध हमलाको बीचमा पढेलेखेका, प्राविधिक शिक्षासहित जीवनसँग सम्बन्धित ज्ञान हासिल गरेका युवाहरू एमालेमा प्रवेश गर्नु नेपाल निर्माणको भिजनरी संकल्प भएको बताएका छन्। उनले एमालेले युवालाई सदुपयोग गर्ने र उनीहरूलाई सही बाटोमा ल्याउने दृढता आवश्यक रहेको स्पष्ट पारे।

अध्यक्ष ओलीले भने, 'दुनियाँमा विभिन्न प्रकारका कुप्रचार र कुहल्ला चलिरहेका बेला, एमालेविरुद्ध यत्रा हमला भइरहेका बेला पढेलेखेका, प्राविधिक शिक्षा र जीवनसँग सम्बन्धित अध्ययन गरेका युवा साथीहरू नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ। यो तपाईँहरूको भिजनरी संकल्प हो, नेपाल बनाउने संकल्प हो।'

प्रधानमन्त्री ओलीले नेकपा एमाले जनताका हक, अधिकार र देशका लागि लड्ने पार्टी भएको बताएका छन्। उनले उत्ताउलो नभई जिम्मेवार पार्टीको रूपमा एमालेले काम गरिरहेको दाबी पनि गरेका छन्।

कान्तिपुर

Link copied successfully