बजेट विनियोजनमा पक्षपात नहोस् : सांसद बजगाईं

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Don't be biased in budget allocation: MP Bajgai

काठमाडौँ — कांग्रेस सांसद राजेन्द्र बजगाईंले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा पक्षपात नगर्न सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले बजेट विनियोजनमा पक्षपात नगर्न र निजी क्षेत्रलाई विकास निर्माणमा उत्साहित पार्ने योजना ल्याउन आग्रह गरे । 'बजेट विनियोजनमा पक्षपात नहोस् । विकास निर्माणमा निजी क्षेत्रलाई उत्साहित पार्ने योजना आओस् । त्यसरी नै बजेट पढियोस्,' उनले भने । 

उनले गाउँका विद्यालयमा बालबालिकाविहीनको अवस्था पुगेको भन्दै शिक्षक स्वयंले आफैंले पढाउने विद्यालयमा छोराछोरी नपढाउने गरेको उल्लेख गरे । 'गाउँ त परै जाओस्, जिल्ला सदरमुकाम र क्षेत्रीय राजधानीसम्म पनि विद्यालयहरू बालबालिकाविहीन छन् । बालविकास तहमा भर्ना हुने बालबालिकै छैनन् । विद्यालय खाली छन्, शिक्षकहरू चाहिँ छन् — तर अचम्म, उनीहरू आफैंले पढाउने विद्यालयमा आफ्ना सन्तान पढाउँदैनन् । किन ? कारण स्पष्ट छ, तर त्यसलाई स्विकार्न कोही तयार छैन,' उनको भनाइ थियो । 

उनले सरकारले बस्ती स्थानान्तरणको योजना ल्याउने गरे पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे । 'हामी बस्ती स्थानान्तरण र एकीकृत समृद्ध बस्तीको कुरा गर्छौं, तर व्यवहारमा कतै कार्यान्वयन देखिँदैन । योजनाहरू कागजमा सीमित छन्, तर जीवनमा प्रकट हुँदैनन्,' उनले थपे, 'राजनीतिमा आज सबैले नेता भनिने गर्छन्, तर नेता र राजनीतिज्ञमा गहिरो भिन्नता छ । राजनीतिज्ञहरू छिटो उम्रिन्छन्, सड्न थाल्छन्, टिक्न अनेक तिकडम गर्छन् । प्रारम्भमा लोकप्रिय देखिन्छन्, तर पछि–पछि घर, सम्पत्ति, स्रोत र जीवनशैलीका नाममा उनीहरूकै पारदर्शिता प्रश्न चिह्नमा पर्छ ।'

नेपाल अहिले नीतिगत भ्रष्टाचारले भरिएको भन्दै सांसद बजगाईंले केबलकार बनाउन लाखौं रुख काट्न पाइने तर त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा रंगशाला निर्माणका लागि एउटा रुख काट्न खोज्दा बवाल हुने विरोधाभास अवस्था रहेको बताए । अहिले देशले गम्भीर नेतृत्व संकटको सामना गरिरहेको पनि उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully