कांग्रेस महामन्त्रीलाई लक्षित गर्दै एमाले सांसदले भने : नीति तथा कार्यक्रम र प्रिबजेट छलफलमा 'वाकपटु' सांसद देखिनँ 

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

Targeting the Congress General Minister, the UML MP said: 'eloquent' MPs were not seen in policy and program and pre-budget discussions.

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद सूर्य थापाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ दलका शीर्ष सांसद सक्रिय नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गरेर उक्त अभिव्यक्ति दिएका हुन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद थापाले प्रि–बजेट छलफलमा सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेता सक्रिय नहुँदा आश्चर्यमा परेको बताएका हुन् ।

‘नीति तथा कार्यक्रम र चालु बजेटका सिद्धान्त र प्राथमिकताको चालु बहसमा म केही वाकपटु माननीयज्युहरू र भेट्रान नेताज्यहरूलाई सक्रिय देखिरहेको छैन, मलाई आश्चर्य लागेको छ,' थापाले भने, 'हिजो त सत्तापक्षकै एकजना वरिष्ठ सांसद माननीयज्युहरूले आफ्नो जिल्लाको सडकमा बजेट नपरे बजेट पुस्तक च्यात्छु भन्न कुनै संकोच मान्नु भएन ।'

कांग्रेसका महामन्त्रीद्वयले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी जनाएका थिएनन् । उनीहरूले प्रतिनिधिसभामा चलिरहेको आगामी आर्थिक वर्षको प्रि-बजेट छलफलमा पनि  भाग लिएका छैनन् । महामन्त्री थापा केही दिन पहिले मात्रै विदेश भ्रमणबाट फर्किएका छन् भने महामन्त्री शर्मा सगरमाथा बेस क्याम्पको भ्रमणमा छन् । 

कांग्रेसकै सांसद अर्जुननरसिंह केसीले प्रतिनिधिसभाको बुधबारको बैठकमा नुवाकोटमा बजेट नपरे पुस्तक संसद्को रोष्ट्रममा नै च्यात्ने चेतावनी दिएका थिए । थापाले भने, 'यो पनि एउटा आश्चर्यकै अभ्यास भएको छ । यसअघिका तीन जना अर्थमन्त्री त्यही क्षेत्रबाट बन्नु भएको रहेछ ।  हामी नयाँ सांसदहरूलाई पुराना, पाका र अग्रज सांसदहरूले बजेट वक्तव्य नआउँदै बजेट च्यात्ने कुरा रोष्ट्रमबाट प्रशिक्षित गर्ने कुरा मिलेन कि ?'

प्रधानमन्त्री ओली निर्दलीय प्रधानमन्त्री नभई दुई ठूला राजनीतिक पार्टी र अन्य साना पार्टीको संयुक्त सरकारको नेतृत्व गरिरहेको कुरा पनि थापाले स्मरण गराए । सत्तारुढ दलकै नेताहरूले प्रतिपक्षीको जस्तो व्यवहार गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।  

कान्तिपुर

Link copied successfully