काठमाडौँ — सभामुख देवराज घिमिरेले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जीसँग भेट गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा भएको भेटमा आपसी सम्बन्ध, द्विपक्षीय हित तथा संसदीय अभ्यास एवं अनुभव आदान प्रदानका विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
भेटवार्तामा सभामुख घिमिरेले नेपाल र जनवादी गणतन्त्र चीनबीच सदियौंदेखि रहीआएको सौहार्दपूर्ण सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक र घनिष्ठ बन्दै गएको बताएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले उल्लेख गरेका थिए । दुवै मुलुकका राष्ट्रपति, प्रधानमन्त्रीलगायतको उच्चस्तरीय भ्रमणले नेपाल–चीन द्वीपक्षीय सम्बन्धले नयाँ उचाई लिएको उनले जानकारी दिए ।
‘सन् २०१९ अक्टोबरमा चीनका राष्ट्रपति सी चिनफिङले गर्नुभएको नेपालको राजकीय भ्रमण र सोही वर्ष नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको चीनको भ्रमणसँगै नेपाल–चीनद्विपक्षीय सम्बन्धले नयाँ उचाई लिएको छ,’ सभामुखले भनेका थिए, ‘नेपाल–चीन सम्बन्धले दुवै देशकानागरिकहरूको विकास, समृद्धि र दिगो शान्तिप्राप्तिको साझा आकांक्षा पूरा गर्न महत्वपूर्ण आधारशीलाप्रदान गरेको कुरामा म विश्वस्त छु ।’
सभामुख घिमिरेले डिसेम्बर २०२४ माप्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणले दुई देशको सम्बन्धलाई थप सुदृढ तुल्याएको बताउँदै यसबाट नेपाल–चीनबीच सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेको अधिकारीले बताए । पछिल्ला वर्षहरूमा नेपाल र चीनबीच संस्कृति, पर्यटन, नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार निर्माण, कनेक्टिभिटी, सूचनाप्रविधिको विकास लगायत विकासका बहुआयामिक क्षेत्रहरूमा गहन रूपमा आपसी सहयोग एवं सहकार्य भइरहेकोमा सभामुखले खुसी व्यक्त गरेका थिए ।
नेपाल र चीनबीच जनस्तरमा समेत अत्यन्त सुमधुर सम्बन्ध रहिआएको बताउँदै सभामुख घिमिरेले ठूलो संख्यामा नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकहरू एकअर्को मुलुकलाई चिनाउने आधार स्तम्भ भएको बताएका थिए । सन् २०२५ लाई चीनले 'नेपाल भ्रमण वर्ष' घोषणा गरेकोमा पनि सभामुखले चिनियाँ टोली समक्ष आभार व्यक्त गरेका थिए ।
सभामुखले नेपाल एक चीन सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै नेपाली भूभागमा चीनका विरूद्धमा कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए ।
सभामुखसँगको भेटमा चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जीले नेपाल एक मित्रवत, रणनीतिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण छिमेकी राष्ट्र भएको उल्लेख गरेको अधिकारीले जानकारी दिए । सियाओले नेपालले लामो समयदेखि चीनको ‘एक चीन नीति’लाई समर्थन गर्दै आएकोमा धन्यवाद व्यक्त गरेका थिए ।
नेपालमा चीनको लगानी, सांस्कृतिक आदानप्रदान, जनस्तरको सहकार्य र शैक्षिक सम्बन्ध वृद्धि हुँदै गएको उपाध्यक्ष सियाओको भनाइ थियो । उनले नेपाल नदी र हिमालले जोडिएको छिमेकी मात्र नभएर रणनीतिक हित र ऐतिहासिक सम्बन्धलाई समेट्ने विश्वासिलो साझेदार भएको बताएका थिए ।
भेटमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी थिए । चिनियाँ पक्षबाट नेपालका लागि चीनका राजदूत छन् सोङ्गसहित उच्च अधिकारी सहभागी थिए ।
