एमालेले एनआरएनएलाई दलीय हितमा प्रयोग गर्दैन : ओली

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

UML will not use NRNA for party interests: Oli

काठमाडौँ — प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैर आवासीय नेपाली संगठन (एनआरएनए)लाई पार्टीको हितमा प्रयोग नगर्ने बताएका छन् । एनआरएनएको बद्री केसी नेतृत्वको संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‌ओलीले उक्त धारणा राखेको हो ।

एमालेले एनआरएनएलाई डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने ओलीको प्रतिबद्धता थियो । गैह्र आवासीय नेपाली संगठनलाई विधिसम्मत रुपमा चल्न पनि आग्रह गरेका थिए । ‘विधिसम्मत ढंगले तपाईंहरू चल्नुस् । यो विधिको दुनियाँ हो । विधिको जमाना हो । विधि तोडेर यस जमानामा अगाडि जान्छु भन्नेकुरा यो त स्वेच्छाचारिता हुन्छ, त्यसो गर्न हुँदैन । राम्रा निष्कर्ष निस्किउन् । यस संस्थाको अस्तित्व रक्षाका लागि यस कन्क्लेभले निष्कर्ष निकालोस्,' उनले भने, 'यस संस्थालाई राजनीतिक पार्टीका जनवर्गीय संगठन बन्नबाट बचाउनका लागि, यस संस्थालाई अरु कसैको फाइदाका लागि प्रयोग हुने कुराबाट जोगाएर समग्र नेपाली डायस्पोरा र नेपालको हितमा काम गर्ने, समर्पित हुने संस्थाको रुपमा अघि बढाउन तपाईंहरू सफल हुनुस् ।'

एनआरएनएको एकतामा जोड दिनुपर्ने पनि ओलीको भनाइ थियो । संगठन विधिसम्मत चल्नुपर्ने र त्यसमा सरकारको साथ रहने उनको भनाइ थियो । 'विधिसम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहन्छ । मेरो पनि साथ रहन्छ । एमाले जसको अध्यक्ष म छु, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहन्छ । एमालेले गैर आवासीय नेपाली संगठनलाई आफ्नो हितमा, दलीय हितमा प्रयोग गर्ने छैन । डायस्पोराको हितमा र देशको हितमा प्रयोग गर्नेछ,’ उनले भने । 

विधि तोड्ने कुरा स्वेच्छाचारिता हुने ओलीको भनाइ थियो । गैर आवासीय नेपाली संगठनलाई कसैको स्वार्थका लागि प्रयोग हुनबाट बँचाएर देशको हितमा काम गर्ने उनले बताए ।  

कान्तिपुर

Link copied successfully