काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले राज्यका हरेक अङ्गमा सत्ताको लाजमर्दो भागबण्डा चलिरहेको टिप्पणी गरेकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले न्यायालय, विश्वविद्यालय, प्रहरी, संवैधानिक निकाय, राजदूत र राष्ट्र बैंक जस्ता संस्थामा मेरिट र काबिलियतको कदर नगरेको आरोप लगाएकी थिइन्।
उनले प्रत्येक वर्षको नीति तथा कार्यक्रममा कृषि, ऊर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने प्रतिवद्धता दोहोरिने भए पनि कार्यान्वयन नहुने प्रवृत्ति दोहोरिएको उल्लेख गरlन्। भाषण र घोषणामा सीमित नभई ठोस परिणाम दिने दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिएकी थिइन्।
उनले भनिन्, 'ज्युँदै नेपाल आमालाई चिथोरेर राज्यका हरेक अङ्गमा सत्ता र शक्तिको लाजमर्दो भागबन्डा चलिरहेको छ। न्यायालय, विश्वविद्यालय, प्रहरी, संवैधानिक निकाय, राजदूत, राष्ट्र बैंक—कहीँ पनि मेरिट र काबिलियतको कदर छैन। यस्तो अवस्थामा आदर्शका मिठा कुरा गरेर नीति कार्यक्रममा छलफल गर्नुको के नै अर्थ रहन्छ र? हरेक वर्षको सिद्धान्त र प्राथमिकतामा कृषि, ऊर्जा, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको प्रतिवद्धता जाहेर गरिन्छ। तर ती प्रतिवद्धता कहिल्यै कार्यान्वयनसम्म पुग्न सकेका छैनन्।'
सांसद कार्कीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको विदेश गएर उपचार गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै यसलाई रोक्ने नीति ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी थिइन्।
