राष्ट्रिय सहमतिकै आधारमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

Constitution is amended on the basis of national consensus: Home Minister Author

विराटनगर — गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधनको तयारी भइरहेको बताएका छन्। संविधान निर्माणको १० वर्ष बितिसकेकाले यसलाई संशोधन गर्ने समय आएको धारणा उनले व्यक्त गरेका छन्।

प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले विषयवस्तुको सबल र दुर्बल पक्षको पहिचान गर्दै सहमतिका लागि संयुक्त कार्यदल गठनबारे छलफल भइरहेको जानकारी गराए।

संविधान र व्यवस्था विरोधी गतिविधि असह्य हुने स्पष्ट पार्दै यस्ता समस्याको समाधान राजनीतिक तवरबाटै खोजिनुपर्ने आवश्यकता औँल्याए ।

विराटनगरमा उद्योगी व्यवसायीहरूसँगको भेटपछि सीमामा तस्करी रोक्न राज्यको प्रयास कमजोर नभएको स्पष्ट पार्दै गृहमन्त्री लेखकले भने, 'राजस्व संकलनमा कमी छैन, तर तस्करीका घटनाबारे प्रश्न उठेपछि गम्भीरता देखाएको हुँ।'

सुरक्षा संयन्त्रलाई आवश्यक परे जनशक्ति थप्न निर्देशन दिइएको उल्लेख गर्दै उनले भने, 'तर परिणाम देखिनुपर्छ।'

राजस्व वृद्धिका लागि पनि तस्करी पूर्ण रूपमा रोक्नुपर्ने धारणा उनले राखे ।

प्रदेश प्रहरीको समायोजनबारे बोल्दै गृहमन्त्री लेखकले कानुनी र नीतिगत व्यवस्था पूर्ण भएपछि मात्र समायोजन अघि बढाइने जानकारी दिए। 'अहिले ७० वर्ष पुरानो ऐन र नियमावलीका भरमा संगठन चलिरहेको छ,' उनले थपे, 'नेपाल प्रहरी ऐन २०१२ अनुसार प्रदेशमा प्रहरी संगठन रहने व्यवस्था गरिएको छ।'

प्रदेशसँग समन्वय गर्दै प्रहरीले काम गर्नुपर्नेमा जोड दिँदै जिल्लागत शान्ति सुरक्षाको अवस्था मूल्यांकन गरेर आगामी रणनीति तय गरिने उनले जानकारी दिए ।

गृहमन्त्री लेखकले पूर्वी नेपालमा लागू पदार्थ दुर्व्यसन, सडक दुर्घटना, आत्महत्या, साइबर अपराध तथा धार्मिक–जातीय द्वन्द्व प्रमुख चुनौतीका रूपमा रहेको बताए ।

कान्तिपुर

Link copied successfully