केही भएन भन्ने नेपाल विरोधी वर्ग हो : ऊर्जामन्त्री खड्का

'केही भएन भन्ने भाष्य निर्माण गरेर नेपालको अर्थतन्त्र बिगार्न लागिरहेका तत्वप्रति सजग रहन आग्रह गर्दछु'

वैशाख ३०, २०८२

न्युज एजेन्सी नेपाल

It is the anti-Nepal class that says nothing has happened: Energy Minister Khadka

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिजाउनेहरू नेपालविरोधी भएको आरोप लगाएका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले क्षति पुर्‍याएको क्षेत्रको स्थलगत अनुगमन उनले नेपालमा विकास भइरहेको दाबी गरेका हुन् । नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको मन्त्री खड्काको आरोप छ ।

देश आफैँले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने पनि उनले बताए । 'काम प्रसस्त भइरहेका छन् । सकारात्मक सोचका साथ काम गरौँ । भएन, भएन भन्ने भाष्य तयार गरिएको छ । भएको कुरा नदेख्ने र केही भएन भनेर एउटा वर्ग नै लागेको छ, यो नेपाल विरोधी वर्ग हो,' उनले भने, 'त्यस्तो वर्गलाई पनि सचेत गराउनु पर्छ । हामीले नबनाए कसले बनाउँछ, हामीले नगरे कसले गर्दछ ? हाम्रो माटो, हाम्रो भूमि हामीले निर्माण गर्ने हो । भएन भन्ने भाष्य निर्माण गरेर नेपालको अर्थतन्त्र बिगार्न लागिरहेका तत्वप्रति सजग रहन आग्रह गर्दछु ।'

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ को बाढीले पुर्‍याएको क्षति नोक्शानीप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो । २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पुर्‍याएको क्षतिको पुनर्निर्माणमा सरकार प्रतिबद्ध रहेको पनि उनले बताए । 'यहाँको समस्या हामीलाई अवगत भयो । बजेट बनाउने बेला भएको छ । सबैकुरा भनिहाल्न नहुने छ । गोप्य राख्ने भनिएको छ । हुनेसम्म प्रयास गर्ने हो । यहाँको अवस्थालाई नजिकबाट हेरेका छौँ । डीपीआर सुरु गरौँ । क्रमागत रुपमा सिंचाईको सुविधा पुर्‍याऔँ । तटबन्धको विषय छ । हामीले पानीको अधिकतम सदुपयोग गर्ने हो,' उनले भने ।  

न्युज

Link copied successfully