जेनजीले विकासले गति लिने स्थिर सरकार चाहेको छ : सचेतक डाँगी

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

Zenji wants a stable government where development will accelerate: Whip Dangi

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले जेनजीले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताएकी छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले जेनजी पुस्ताको भविष्य सुनिश्चित गर्न माग गरिन्। पाका नेतृत्वहरूबाट अब देश विकास हुने आश मरेको बताउँदै नयाँ अनुहार र नयाँ सोचको नेतृत्व जेनजी पुस्ताले चाहेको बताइन्। रोजगारी र उद्यमशीलतामा प्रोत्साहन गर्ने नीति अहिलेको आवश्यकता भएको पनि उल्लेख गरिन्।

उनले भनिन्, ‘यस वर्ष जेनजी पुस्ताको विषयमा धेरै छलफल भए तर ती छलफलले हाम्रो वास्तविक आवश्यकता बुझ्न सकेका छैनन्। त्यसैले म जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै हाम्रा पुस्ताका मागहरू राख्न चाहन्छु। हामी स्थिर सरकार चाहन्छौँ, जहाँ विकासले गति लियोस्। हाम्रो भविष्य सुनिश्चित गरियोस्। हाम्रो हजुरबुबाको पालादेखिका नेताहरूबाट आशा मरिसक्यो, सभामुख महोदय। म जन्मिनुअघिदेखि नै प्रधानमन्त्री बन्नुभएका नेताहरूको 'डेट एक्सपायर' भइसक्यो। हामी नयाँ अनुहार र नयाँ सोचको नेतृत्व चाहन्छौँ। हामी रोजगारी र उद्यमशीलतामा प्रोत्साहन गर्ने नीति चाहन्छौँ। सीप विकासका तालिम चाहन्छौँ।’

उनले आफूहरू केवल डिग्री नभई गुणस्तरीय शिक्षा चाहने बताइन्।

कान्तिपुर

Link copied successfully