प्रधानमन्त्री ओलीले धुर्मस–सुन्तलीलाई भनेका थिए : त्यहाँ धेरै गाह्रो छ, काम नथाल्नू

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Oli told Dhurmas-Suntali: It is very difficult there, don't start work

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध क्रिकेट रंगशाला सरकारले बनाएर छोड्ने बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित सिनेपा चलचित्र छायाङ्कन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ काम सुरु गरिएको र सुरु गरेपछि काम पूरा गरेर छोड्ने बताएका छन्।

सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चितवनमा गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन सुरु गर्दा 'त्यहाँ धेरै गाह्रो छ, काम नथाल्नू' भनेर आफैले सुझाव दिएको स्मरण गर्दै उनले पछि उनीहरूले धेरै दुःख भोग्नुपरेको बताए। क्रिकेट मैदान बनेसँगै उनीहरूको दुःख अन्त्य हुने पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, 'आज हामीले नयाँ काम थालेका छौँ। यसलाई सफल बनाउनुपर्नेछ। थालेपछि सफल हुन्छ। मैले भनेको थिएँ—गाह्रो छ, बाबुनानु, त्यहाँ नथाल, भन्दाभन्दै धुर्मस–सुन्तलीले क्रिकेट मैदान सुरु गरे। धेरै दुःख पाए। माया लाग्छ। तर त्यो क्रिकेट मैदान पनि बन्छ। उनीहरूको दुःख, कष्ट पनि हट्छ एक दिन। मैले त यही दुःख पाइन्छ भनेर नगर्नु भनेको हो। यति ठूलो काम आँटियो।'

प्रधानमन्त्री ओलीले उनीहरूले धेरै ठूलो काम सुरु गरेको र एक दिन त्यसमा सफलता अवश्य प्राप्त हुने विश्वास पनि व्यक्त गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully