काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका सिद्धान्त र प्राथमिकता अध्ययन गर्दा बजेट जनताको पक्षमा आउनेमा आशंका रहेको एकीकृत समाजवादीका सांसद तथा पूर्वभौतिकमन्त्री प्रकाश ज्वालाको भनाइ थियो ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा सामान्य, कर्मकाण्डी भएको पनि उनको भनाइ थियो ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद ज्वालाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भएका विषय केही छाँटकाँट गरेर प्रस्तुत गरिएको बताए ।
'बजेटका प्राथमिकता हेर्दा जनतालाई उत्साह, ऊर्जा दिने खालको र बजेट यो मार्गदर्शनमा बजेट जनमुखी आउँछ, विकासमैत्री आउँछ, उत्पादन र रोजगारि सिर्जना गर्ने खालको आउँछ भन्ने देखिँदैन,' उनले भने, 'बरु नीति तथा कार्यक्रम र प्राथमिकतालाई हेर्दा फेरि पनि दलाल, भूमाफिया, कालाबजारीहरु अर्थात् सम्पूर्ण रुपमा दलाल पुँजीपतिहरुको हित स्वार्थमा केन्द्रित भएर आउने आशंका गर्न सकिन्छ । त्यसकारण सिद्धान्त र प्राथमिकता हेर्दा बजेट फेरि पनि भूइँ मान्छेहरुको पक्षमा, जनताको पक्षमा, आधारभूत वर्गको पक्षमा आउने विश्वास गर्न सकिँदैन ।'
बजेटका सिद्धान्त र प्राथमिकता नीति तथा कार्यक्रमको फोटोकपीजस्तो देखिएको ज्वालाको भनाइ थियो । ‘हामीले दिएको सुझाव अक्षरस पालना गर्नुभएको अनुभूति भएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्ताको तस्तै फोटोकपीको रुपमा आएको छ । दुई वटा दस्तावेज ल्याउनै पर्दैनथ्यो । केही छाँटकाँट गरेर यहाँ प्रस्तुत गरिएको छ । बजेटका प्राथमिकता बजेट कस्तो आउँछ भन्ने हुनुपर्थ्यो तर त्यसो हुन सकेन । कर्मकाण्डी, ल्याउनै पर्ने हो भन्ने हिसावले आएको छ,' उनले भने ।
बजेटका सिद्धान्त र प्राथमिकतामा आर्थिक सुधार, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासमा तीव्रता दिन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको आधार तयार गर्न सम्पूर्ण स्रोत साधन र सामर्थ्यको परिचालन गर्न जरुरी रहेको उनले बताए । प्राथमिकता र प्रतिबद्धतालाई बजेटमार्फत अगाडि बढाउन सकिन्छ कि सकिँदैन भन्ने मूल प्रश्न रहेको उनको भनाइ थियो ।
