बेइजिङ — चिनियाँ भिक्षुहरूको सामूहिक प्रार्थना तथा पूजापाठका साथ चीनको राजधानी बेइजिङमा सोमबार २५ सय ६९औँ बुद्ध जयन्ती मनाइएको छ ।
हरेक वर्ष बुद्ध जयन्तीको अवसरमा बेइजिङस्थित नेपाली राजदूतावासले प्रार्थनासभा, सिंगिङ बाउल ध्यान लगायतको आयोजना गरी विभिन्न देशका कूटनीतिज्ञहरूमाझ बुद्धजयन्ती मनाउने गरेको छ ।
दूतावास प्राङ्गणमा आयोजित कार्यक्रममा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले बौद्ध इतिहासहले नेपाल र चीनबीचको लामो सामाजिक-सांस्कृतिक सम्बन्धलाई प्रमाणित गर्ने र शताब्दीयौंदेखि समृद्ध रहँदै आएको बताए ।
उनले भने, ‘बुद्धको जन्मस्थल लुम्बिनीमा फा सियान र सुआन चाङजस्ता प्रख्यात चिनियाँ भिक्षुहरूको तीर्थयात्रा र बौद्ध धर्म फैलाउन नेपाली भिक्षु बुद्ध भद्रको चीनको यात्रा हाम्रा दुई देशहरू बीचको स्थायी जन-जन सम्बन्धका उदाहरण हुन् । एसियामा बौद्ध धर्मको प्रसार र प्रसारको लागि बौद्ध धर्मको हाम्रो आध्यात्मिक विरासतलाई नेपाली राजकुमारी भृकुटी र नेपाली वास्तुकार अरनिकोले चीनमा अझ बढी संरक्षित गरेका छन् ।’
नेपाल-चीन कूटनीतिक सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूमा आधारित रहेको भन्दै उनले यसले पारस्परिक सम्मान, पारस्परिक समझदारी, अहिंसा, समानता र शान्तिपूर्ण सहयोगको बौद्ध नीतिलाई प्रतिबिम्बित गर्ने पनि राजदूत ओलीले चर्चा गरे । नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवको यो समयमा बुद्ध जयन्ती आध्यात्मिक पर्यटन बढाउने राम्रो अवसर रहेको पनि उनले बताए ।
बेइजिङस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरू, शुभेच्छुक संस्थाका चिनियाँ नागरिकहरू, यहाँस्थित नेपाली समुदाय र चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिसहित एक सय भन्दा बढीको बुद्धजयन्ती समारोहमा सहभागिता थियो ।
कार्यक्रममा चिनियाँ बौद्ध सङ्घका उपाध्यक्ष भिक्षु छाङ चाङले चीन र नेपालबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै चीन-नेपाल शान्ति र समृद्धिका लागि दुवै देशले निरन्तर सहकार्य गर्नुपर्ने बताए ।
