सरकारले काम गर्न नसकेको दाहालको आरोप, सरकारले राम्रो काम गर्दा दाहालमा छटपटी बढेको पोखरेलको भनाइ
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पमल दाहाल र एमाले महासचिव शंकर पोखरेलबीच सवाल–जवाफ भएको छ । दाहालले शनिबार वर्तमान सरकार रुझेको बिरालो झैं शक्तिहीन भइसकेको टिप्पणी गरेपछि पोखरेलले त्यसको जवाफ सामाजिक सञ्जालबाट दिएका छन् ।
माओवादीले शनिबार पाँचथरको फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सरकारले मुलुक र जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाएका थिए । त्यसको जवाफ लेख्दै पोखरेलले सरकराले पर्याप्त काम गरेको दाबी गरेका छन् ।
‘मेरो नेतृत्वको सरकारले देश र जनताका पक्षमा धेरै राम्रा काम थालनी गरेको थियो, भ्रष्टाचार र सुशासनका लागि नीतिगत पहल पनि भइरहेकै थियो, दलाल बिचौलिया र पुँजीपतिलाई त्यो सहृय भएन, स्वार्थ केन्द्रहरुले बनाएको यो सरकार जनहितमा काम गर्न नसकेर रुझेको बिरालो जस्तै भइसकेको छ, आफैं ढल्छ, हामीले ढालिरहनु पर्दैन,’ दाहालको भनाइ थियो, ‘दुई तिहाइ भए पनि सरकार डरले रुझेको बिरालोझैं भएको छ ।’
जवाफमा पोखरेलले प्रश्न गरेका छन्, प्रचण्डजी तपाईं के बोल्दै हुनुहुन्छ ?’ यी तथ्यहरूले तपाईंको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ ।’ पोखरेलले दाहाल प्रधानमन्त्री हुँदाको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको, विदेशी मुद्राको सञ्चिति बढेको, सोधनान्तर स्थितिमा उल्लेख्य बचत भएको बताएका छन् ।
‘निर्माण व्यवसायीलाई कामबापतको तपाईंको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ । निर्माण ठप्प रहेका ठूला आयोजनाहरूको काममा तीव्रता आएको छ । जस्तो पोखरा –मुग्लिन सडक, गैंडाकोट– बुटवल सडक आदि’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भूकम्प र बाढीपीडितका क्षतिग्रस्त आवास निर्माणका लागि स्रोतको व्यवस्था भएको छ ।’
महासचिव पोखरेलले बैंकको तरलता वृद्धि भएको, व्याजदर घटेको र लगानी वृद्धि हुन थालेको बताएका छन् । सरकारले आवश्यक कानुन निर्माणलाई तीव्रता दिएको उनको भनाइ छ । ‘कानुन निर्माणको कामले तीव्रता पाएको छ । सहकारीमा भएको घोटालाको छानबिन र कारबाहीको प्रक्रिया अघि बढेको छ । साना बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया सुरुभएको छ । कानुनी सुधारको प्रक्रियाबाट लगानीयोग्य वातावरण तयार भएको छ,’ उनको भनाइ छ, ‘कानुन कार्यान्वयन गर्ने निकायले बिनाहस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ । भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको छ । सरकारको स्थायित्वको आधार तयार भएको छ ।’ उनको थप प्रश्न छ, ‘उपरोक्त कारणले नै तपाईंको पीडा र छटपटी बढेको देखिन्छ । होइन र ?’
