काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्का दुवै सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका आइतबारका बैठकमा पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरेका हुन् । संसद्बाट पारित भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुरुप बजेटका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट तर्जुमा गरिने पनि मन्त्री पौडेलले बताए । अर्थतन्त्रका उदयमान क्षेत्रलाई प्रोत्साहन गरिने, निजी क्षेत्रमैत्री, प्रतिष्पर्धी र आत्मनिभर अर्थतन्त्र निर्माणमा जोड दिने उनले बताए ।
नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशिलता र विकासमा तिव्रता हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए । विकासको ढाँचा, गति र संस्कृति बदल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
