मुस्ताङको कान्छो गाउँ बन्यो ‘नयाँ साम्जोङ’

पानी सुकेर खेतीपाती नै हुन छाडेपछि १८ परिवारको बस्ती नै स्थानान्तरण

वैशाख २८, २०८२

घनश्याम खड्का

Mustang's youngest village became 'New Samjong'

लोमन्थाङ, मुस्ताङ — कालीगण्डकी करिडोरअन्तर्गत लोमन्थाङ–कोरला खण्डको छोसेर पारिपट्टि नाम्जुङ खोला बगरमा उस्तै आकार र रङका घर लस्करै देखिन्छ । यी परम्परागत मुस्ताङ्गी घरभन्दा फरक छन् । परम्परागत घर र गुम्बामा माटोको छाना हुन्छ, यहाँ भने जस्तापाताका छाना छन् ।

लोमन्थाङ–२ स्थित नाम्जुङ खोला बगरमा बसेको बस्तीको नाम हो, ‘नयाँ साम्जोङ’ । यो मुस्ताङको कान्छो गाउँ पनि हो । यहाँ लोमन्थाङ–२ मै पर्ने साम्जोङबाट १० वर्षअघि बसाइँ सरेर आएकाहरूले बस्ती बसाएका हुन् । यहाँ १८ परिवारको बसोबास छ । पूर्वमुस्ताङ्गी राजा जिग्मे पलवर विष्ट, लामा नवाङ कुङ्गा विष्ट र स्विस फोटो पत्रकार म्यानुअल वाउरको समन्वयमा साम्जोङवासीका लागि नाम्जुङको बगरमा बस्ती बसाइएको हो ।

साम्जोङ गाउँ पहिले पेमरा खोला किनारमा थियो । पेतो, नापिङजुङ र सेन्जा फाँटमा उत्पादन हुने उवा, फापर, आलु, तोरी बालीको उत्पादनले सबैलाई खान पुग्थ्यो । खोलामा पानी सुकेपछि समस्या भयो । त्यसपछि त्यहाँका बासिन्दा नाम्जुङ खोला बगरमा सरेका हुन् । उनीहरू अहिले बसोबास गरेको जमिन केही मुस्ताङ्गी पूर्वराजाको हो भने केही सरकारी पर्ती पर्छ । 

पेमरा खोलामा पानी सुकेपछि बाध्य भएर नाम्जुङ खोलाको बगरमा सर्नुपरेको ४१ वर्षीया युक गुरुङले सुनाइन् । ‘साम्जोङमा खोलाको मुल सुक्यो, खडेरीले अन्नबाली भएन । भोकमरी फैलियो । खुब कष्ट भयो । पछि मुस्ताङका पूर्वराजा, लामा कुङ्गा र विदेशीले यहाँ घर बनाइदिएपछि हामीले पुरानो साम्जोङ गाउँ छाड्यौं,’ उनले भनिन्, ‘यहाँ पानी त प्रशस्त छ, तर आफ्नो जमिन छैन । बसेकै ठाउँको पनि लालपुर्जा छैन ।’

साम्जोङवासीले बसाइँ सर्नुअघि स्विस भूगर्भविद् र जलवायुविज्ञको सहयोगमा ड्रिल गरी पानीको स्रोत खोज्ने, जलाशय बनाएर सुक्खायाममा खेतमा सिँचाइ गराउने र पाइपलाइनबाट पानी ल्याउने प्रयास गरिएको थियो । तर ती प्रयास सफल नभएपछि बसाइँ सारिएको हो । लोमन्थाङ–२ का वडाध्यक्ष कर्म नाम्ग्याल गुरुङका अनुसार हिमपातको कमीले जलभण्डारण मासिएकाले साम्जोङमा खेती हुन छाडेको छ । साम्जोङवासीको आम्दानीको अर्को स्रोत च्याङ्ग्रापालन हो । ‘उनीहरू दसैं–तिहारमा च्याङ्ग्रा बेचेर आम्दानी गर्थे तर चरन अभाव हुन थालेपछि च्याङ्ग्रा पाल्ने पनि घटे,’ वडाध्यक्ष गुरुङले भने । 

लोमन्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जलवायु परिवर्तनले विशेष गरी उपल्लो मुस्ताङमा असर गरेको बताए । उनले जलवायुमैत्री कृषि प्रणाली अवलम्बन गर्न थालिएको जानकारी दिए । ‘खासगरी जलवायुमैत्री कृषि प्रणाली (प्लास्टिक टनेलमा तरकारी खेती गर्ने, मिनीटेलरबाट खनजोत गर्ने, मेसिन लगाएर बाली काट्ने) अवलम्बन गर्न थालिएको छ । गुइँठा वा काँडाको दाउराको विकल्पमा विद्युतीय ऊर्जा प्रयोग गर्न थालिएको छ,’ उनले भने, ‘बालुवा नै बालुवा भएको मुस्ताङका खोला, खोल्सीमा वृक्षरोपण थालिएको छ ।’ 

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully