मानवजाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री

वैशाख २८, २०८२

रासस

Everest dialogue to solve the problems of mankind and the earth: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मानवजाति र धर्तीको भविष्यसँग जोडिएका साझा समस्याको समाधान खोज्न ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने सगरमाथा संवादका सन्दर्भमा भिडियो सन्देश जारी गर्दै भनेका छन्, 'पृथ्वीको भविष्य सुनिश्चित होस्, मानवजातिको भविष्य सुनिश्चित होस्, यसका निम्ति हामी यही मे १६ देखि १८ सम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्दै छौं ।'

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थिति तथा हाम्रो वरपरको वातावरण निरन्तर प्रदूषित भइरहेकामा चिन्ता व्यक्त गर्दै मुलुकको बिग्रँदो वातावरण थप बिग्रन नदिन यसको संरक्षणमा सबै सचेत रहनुपर्ने सन्देश प्रवाह गर्न संवाद आयोजना हुन लागेको उल्लेख गरे । 'हाम्रा क्रियाकलापले पृथ्वीको वातावरण बिग्रन नपाओस् । अब हाम्रा क्रियाकलापबाट बिग्रिएको वातावरण सपार्न सकौँ । र, भोलिका लागि हाम्रा भावी सन्ततिले सुरक्षित र सुन्दर वातावरणमा बस्न पाउन्,' प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

वातावरण संरक्षण विश्वको साझा समस्या भएकाले यसको समाधान गर्न विश्ववासीको साझा प्रयास आवश्यक भएकामा उनको जोड छ । 'कार्बन इमिसनदेखि लिएर वातावरण बिगार्ने अन्य तत्वको नियन्त्रण र वातावरणलाई सपार्ने प्रयास अगाडि बढाउने काम गर्न जरुरी छ । त्यसका निम्ति विश्वका मानिस एक ठाउँ बसेर छलफल गरौँ, एक ठाउँ बसेर समस्या पहिचान र एकठाउँबाट तिनको समाधान निकाल्ने प्रयास गरौँ,' प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

रासस

Link copied successfully