साउदी अरबको सेन्दान कम्पनीमा ८ महिनादेखि ४६९ जना नेपाली कामविहीन

९ महिनादेखि आवासीय भिसाको म्याद समाप्त

वैशाख २८, २०८२

होम कार्की

469 Nepali people are jobless in Sendan Company of Saudi Arabia since 8 months

काठमाडौँ — साउदी अरबको पूर्वी क्षेत्र जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनी लिमिटेडमा ८ महिनादेखि ४ सय ६९ जना नेपाली कामविहीन भएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार कम्पनी टाट पल्टिएपछि नेपाली श्रमिक कामविहीन भएका हुन् । दूतावासका अनुसार उनीहरूलाई नेपाल पठाउन आवश्यक पर्ने बहिर्गमन भिसा (एक्जिट परमिट) नलाग्दा समस्या देखिएको छ । 

कम्पनीमा रहेका नेपाली श्रमिकले आफूहरूलाई जतिसक्दो छिटो उद्धार गरी नेपाल पठाउन अपिल गरेका छन् । १० वर्षदेखि कम्पनीमा काम गरेका रामप्रसाद यादवले कम्पनीको क्याम्पमा सुतेर बस्नुपर्दा निकै समस्या बढेको बताए । ‘हाम्रो दैनिक जीवन बिग्रिँदै गइरहेको छ । कम्पनीले काम दिन छाडेपछि हामीलाई बिहान बेलुका दाल र भात दिइरहेको छ,’ उनले भने,‘कसैसँग एकपैसा साथमा छैन । ओषधि किनेर खाना पैसा छैन । बिरामी पर्न थालेका छन् ।’ गत डिसेम्बर २४ देखि कम्पनी पूर्ण रूपमा बन्द भएको दूतावासले जनाएको छ ।

श्रम काउन्सिलर कविराज उप्रेतीका अनुसार उनीहरूलाई स्वदेश पठाउन अझै एक महिना लाग्न सक्ने बताए । ‘सबैको आवासीय भिसा सकिएको छ । स्वदेश फिर्न एक्जिट परमिट निस्कनुपर्छ । त्यो निस्कन अझै एक महिना लाग्ने साउदीको श्रम विभागले जनाएको छ,’ उनले इकान्तिपुरसँग भने,‘उनीहरूलाई छिटो नेपाल पठाउन रियाद र जुबेलको श्रम कार्यालयसँग समन्वय भइरहेको छ ।’

469 Nepali people are jobless in Sendan Company of Saudi Arabia since 8 monthsउप्रेतीका अनुसार ४६९ जना नेपाली श्रमिकमध्ये २ सय ४३ जना नेपाल फर्किन तयार छन् भने २ सय २६ जना कम्पनी परिवर्तन गरी अर्को कम्पनीमा काम गर्न इच्छुक छन् । ‘जोसँग आवासीय भिसाको म्याद थियो । उनीहरू नेपाल फर्किसकेका छन् । जसको आवासीय भिसाको म्याद ग्रुजेको छ । त्यसको जरिवाना मिनाह गरेर एक्जिट परमिट निकाल्नुपर्छ,’ उनले भने,‘साउदीमै बसेर काम गर्न इच्छुक भएका श्रमिकको लागि नयाँ कम्पनीसँग कुरा भइरहेको छ ।’ कम्पनी परिवर्तन गर्न चाहानेको जरिवाना रकम भने नयाँ कम्पनीले नै ब्यहोर्ने उनले बताए ।

साउदीले अनलाइनमार्फत श्रमिक आफैंले एक्जिट परमिट निकाल्नका लागि संयन्त्रमा केही प्राविधिक समस्या देखिएको जनाएको छ । ‘हामीले रियादस्तिथ श्रम विभागको प्रमुखलाई भेटेर एक्जिट परमिट जारी गर्न अनुरोध गरेका छौं । रियादबाट एक महिनाभित्र समस्या समाधान गर्न कोसिस गर्ने आश्वासन पाएका छौं,’ उनले भने ।

469 Nepali people are jobless in Sendan Company of Saudi Arabia since 8 monthsश्रमिकहरूको आवासीय भिसाको म्याद समाप्त भएको ७ देखि ९ महिना भइसकेको छ । श्रमिकहरूले ४ महिनादेखि १ वर्षसम्मको तलब पाउन बाँकी छ । कम्पनीले अदक्ष श्रमिकलाई न्यूनतम तलब १३ सय रियाल दिने गरेको थियो । त्यस कम्पनीमा २ वर्षदेखि १६ वर्षसम्म काम गरेका श्रमिकले उपदान पाउन बाँकी छ । ‘अहिले पहिलो प्राथमिकता स्वदेश नै पठाउने हो । कम्पनीबाट पाउनुपर्ने तलब र उपदानक लागि मुद्दा मामिला गर्नुपर्छ । कम्पनी आफैं बन्द भइसकेको अवस्था छ,’ उप्रेतीले भने,‘साउदीमा टाट पल्टिसकेको कम्पनीको हरहिसाब दिलाउने एउटा प्रक्रिया छ । कम्पनी लिक्विडेसनमा लैजानुपर्छ ।’

469 Nepali people are jobless in Sendan Company of Saudi Arabia since 8 monthsनेपाली जनप्रगतिशील मञ्च साउदी अरबका उपाध्यक्ष हरिबहादुर बुढाथोकीले बिरामी पर्न थालेका श्रमिकलाई औषधि वितरण गरेको बताए । उपाध्यक्ष बुढाथोकी, सदस्य विक्रम श्रीपाली र सुनिल सेञ्चुरीसहितको टोलीले  सुगर र प्रेसरका बिरामीलाई औषधि वितरण गरेका हुन् । ‘क्याम्पमा केही जटिल बिरामी पनि छन् । उनीहरूको स्वास्थ्य उपचार गर्न आवश्यक देखिएको छ,’ बुढाथोकीले भने,‘लामो समयसम्म क्याम्पभित्र बाध्य भएर बसिरहेको उनीहरुको यथाशिघ्र उद्धार गर्न आश्यक छ ।’  

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully