बाघले कानुनको किताब पढेको हुँदैन : प्रधानमन्त्री ओली

वैशाख २७, २०८२

कान्तिपुर संवाददाता

The tiger has not read the law book: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अब वनको विस्तारभन्दा पनि उत्पादनमा जानुपर्ने बताएका छन् । वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनुपर्ने उनले बताए । हाल नेपालमा हाल ४६ प्रतिशत वनको भाग रहेको छ । 

वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीको उद्घाटन गर्दै उनले वन सबलीकरण गर्ने र बुट्यानलाई पनि सघन वनमा रुपान्तरण गर्नुपर्नेमा उनले जोड दिए । 'मैले बाघको संख्या अब बढाउनु पर्दैन भन्दा वातावरणविरोधी भयो भनेर नबुझीकन टिप्पणी पनि गरियो । बाघले कानुनको किताब पढेको हुँदैन । उसले भोक लागेर खाना नपाएपछि मान्छेलाई आक्रमण गर्छ । फोटाका बाघ हेरेर यसले केही गर्दैन भनेर हुँदैन,' प्रधानमन्त्री ओलीले भने, 'हामीले अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम दोब्बरभन्दा बढी संख्यामा बाघ बढाएका छौँ । वनको छेउमा बस्नेलाई यसको पीरमर्का थाहा छ । वातावरणको संरक्षण मानव जातिका लागि गर्ने हो । मानव जाति नै असुरक्षित भएर वातावरणको संरक्षण गर्न सकिँदैन ।'

प्रधानमन्त्री ओलीले पेरिस सम्झौता नमान्ने केही केही देशहरु रहेको उल्लेख गर्दै विश्व सहकार्यमा सबै आउनुपर्नेमा जोड दिए । उनले यो महत्व आज बुझिएन भने भोलि ढिलो हुने लागेर नेपालले सगरमाथा संवादको आयोजना गर्न लागेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी हुने क्रमलाई कडाइका साथ रोकिने पनि बताए । नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखको महत्व हुने रहेकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताए । 'हरियो वन नेपालको धनको नारा पुरानै भए पनि धनको रुपमा वनको सदुपयोग भएको थिएन तर अहिले हामीले एउटा संकल्प लिएका छौँ, सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ,' प्रधानमन्त्री ओलीले भने, 'वन क्षेत्रको संरक्षण हामीले बढाएका छौँ ।'

कान्तिपुर संवाददाता

Link copied successfully