भ्रष्टाचारको नियतले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलका ठूला योजना बनाइए : अध्यक्ष लिङ्देन

वैशाख २७, २०८२

माधव ढुंगाना

Big plans for international airports in Pokhara and Bhairahawa were made with the intention of corruption: President Lingden

भैरहवा — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार गर्ने नियतका कारण ठूलो योजना भएको दाबी गरेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघले शनिबार भैरहवामा आयोजना गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले धेरै कमिसन पाइने नियतले यी दुवै योजना पूर्वयोजना र अध्ययनबिना बनाइएको आरोप लगाए । ठूला योजना ल्याउँदा ठूलै पैसा खान पाइन्छ भनेर विमानस्थल बनाइएको आरोप उनको थियो ।

उनले ४ सय बिघा जग्गा अधिग्रहण गरेर हुनेमा ८ सय बिघाभन्दा बढी अधिग्रहण गरी गौतमबुद्ध विमानस्थल भ्रष्टाचार भएको दाबी गरे । ‘यी योजना पैसा खानकै लागि बनाइएको हुन्,’ उनले भने । अन्तर्राष्ट्रिय सिमाना नजिक निर्माण गर्दा भारतको स्विकृती आवश्यक पर्ने थियो भने निर्माण गरिनु अगावै किन स्विकृति लिइएन ? लगायतका धेरै प्रश्न उब्जिएको उनले बताए ।

‘यी दुवै योजना जनतालाई खुशी बनाएर ठूलै कमिसन खानका लागि बनाइए’ उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा निजी क्षेत्रलाई उत्साहित बनाएर र हामी सबैको टाउकोमा ऋण बोकाएर भ्रष्टाचार गर्ने को को हुन् ? खोजी गरी भ्रष्टाचारको छानबिन हुनै पर्छ र विमानस्थल पनि नियमित रुपमा पनि संचालन हुनै पर्छ ।’

भैरहवाको विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार छानबिनका लागि बनाइएको संसदको सार्वजनिक लेखा समितिअन्तर्गत उपसमितिका संयोजकमाथि नै प्रश्न उठेपछि संयोजक परिवर्तन कुरा भैरहेको उनले बताए ।

पोखराको विमानस्थलमा जस्तो प्राविधिक समस्या भैरहवामा नरहेको र भैरहवाको विमानस्थलका संचालनका लागि विश्वका बौद्धिष्ट राष्ट्रबाट लुम्बिनीमा धार्मिक पर्यटक भित्र्याउन ती मुलुकमा र भारतको स्विकृतिका लागि सरकारले पहल गर्नु पर्नेमा उनले जोड दिए । 

विमानस्थल संचालनका लागि संसद‍बाटै आफूले पहल गर्ने आश्वासन उनले दिए । मुलुकमा व्याप्त भ्रष्टाचारका कारण अहिले चलाइरहेको व्यवसाय टिकाउनै गाह्रो भएको र नयाँ व्यवसाय गर्न चाहने व्यवसायीले कैयन कार्यालय धाउन र घुस दिँदासमेत काम नहुने समस्या भइरहेको बताए ।

भ्रष्टाचारसम्बन्धी कारबाही गर्ने निकाय अख्तियार, अदालत भए पनि त्यहाँ पनि नेताले नियुक्ति गरेका राजनीतिक कार्यकर्ता हुने गरेकाले अहिलेको शासन पद्धति नै खराब रहेको उनले बताए ।  

माधव ढुंगाना ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully