राजावादीप्रति एमाले सांसद बाँस्कोटाको कटाक्ष : तासका बुङका राजारानी खोजेर जिन्दगी गुजार्नुस्

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

UML MP Baskota's sarcasm towards monarchists: Spend your life searching for the king of Taska Bungka.

काठमाडौँ — एमाले सांसद गोकुल बाँस्कोटाले राजा खोजेर समय बर्बाद नगर्न राजावादीहरूलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बाँस्कोटाले राजसंस्थाको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलन गर्नुको सट्टा आगामी निर्वाचनमा बहुमत ल्याउने प्रयास गर्न सुझाव दिएका हुन्।

उनले कुनै पनि हालतमा समाज पछाडि नजाने भन्दै तासका बुङका राजा–रानी खोजेर अब जिन्दगी गुजार्न सुझाव दिँदै कटाक्ष गरेका थिए।

उनको भनाइ थियो, 'केही साथीहरू व्यवस्था परिवर्तन गर्ने भन्दै आन्दोलन गरिरहनुभएको छ। सरकारले संविधान नै संशोधन गर्ने भनिरहेको छ भने किन आन्दोलन गर्नुपर्‍यो? यहाँबाट तपाईँहरूको दुई तिहाइ पुग्दैन होला, अर्को चुनावमा प्रयास गर्नुस्, बहुमत ल्याउनुस्। तासका बुङका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस्। बाँकी त कहाँबाट आउनु। राजा–राजा भनिएको छ, अब त निद्रा पनि नपर्ला जस्तो भइसक्यो। आउँदैन हजुर त्यो, यो पनि समयको बर्बादी हो के। लोकतन्त्रको विकल्प छैन, समाज पछाडि फर्किँदैन।'

सांसद बाँस्कोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको स्वागत गर्दै समग्र मुलुकको विकासमा टेवा पुग्ने गरी योजना कार्यान्वयन गर्न जरुरी रहेको बताए ।

कान्तिपुर

Link copied successfully